५५ विपन्न परिवारलाई खाद्यान्न र सिरक प्रदान
428 Views
तेह्रथुम, १६ कात्तिक खोज मिडिया ।
तेह्रथुम जिल्लाको छथर गाउँपालिका-३ पञ्चकन्याका ५५ विपन्न परिवारलाई खाद्यान्न तथा सिरक सहयोग प्रदान गरिएको छ । छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा कर्मथलो बनाउँदै आएका शिव ईमेहाङका छोरा योगेन्द्र इमेहाङले आर्थिक रूपमा विपन्न परिवारलाई सहयोग गरेका हुन् ।
आर्थिक रूपमा विपन्नता कै कारण समस्या हुँदै आएका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ चामल २५ किलो, सिरक एक थान र तेल एक पोका प्रति परिवार प्रदान गरिएको शिवले हङकङबाट जानकारी दिए ।
पत्रकार प्रकाश पाक्साँवाको समन्वयमा सामाग्री वितरण गरिएको थियो । छथर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीजंग थापा र दाताका प्रतिनिधि मनु तुम्सा इमेहाङले एक कार्यक्रमका बिच प्रदान गरेका थिए ।
वडाध्यक्ष थापाले गाउँको दूरदराजमा रहेका विपन्न परिवारलाई सहयोग गर्नु भनेको महान् कार्य भएको र दाता प्रति सम्मान व्यक्त गरेका थिए । आर्थिक रूपमा विपन्न र शारीरिक रूपमा अशक्त भएका परिवारलाई सहयोग गर्न दाता प्रति सधैँ ऋणी रहेको बहुकुमारी श्रेष्ठले बताइन् ।
वडाको वासिक, माङबालुङ, हिमाङदिङ, खिरखिरे, लुकुवा, फूलबारी, सन्सारे, दमाईगाउँ, वास्मेरी, ज्यामिरे, मापाङफे, खौवा, पञ्चकन्यालगायत वडा नम्बर ३ मा रहेका विपन्न परिवारलाई छनौट गरी सहयोग प्रदान गरिएको थियो ।





प्रतिक्रिया दिनुहोस