पोखरामा एम्पीयर विद्युतीय स्कुटरको बिक्री सुरु
83 Views
पोखरा । भारतीय विद्युतीय दुईपाङ्ग्रे सवारी ब्राण्ड Ampere ले पोखरामा आफ्नो आधिकारिक बिक्री–वितरण सुरु गरेको छ । भारतको ग्रीभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादन हुने एम्पीयर स्कुटर अब पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रा.लि. मार्फत उपलब्ध हुने भएको हो ।
नेपालमा एम्पीयर ब्राण्डको आधिकारिक वितरक STC Auto Solution Pvt. Ltd. ले देशभर बजार विस्तार गर्ने योजनाअन्तर्गत पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ । कम्पनीले वैशाख ३१ गतेदेखि ‘एम्पीयर नेक्सस ईएक्स’ मोडलको बिक्री औपचारिक रूपमा सुरु गरेको हो ।
पोखरामा आयोजित उद्घाटन कार्यक्रममा डीएनबी ट्रेड प्रा.लि.का अध्यक्ष बैकुण्ठ बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा राजपाल चड्डाले एम्पीयर स्कुटरका विशेषता तथा प्रविधिबारे जानकारी दिँदै डीएनबी ट्रेडको सम्पूर्ण टिमलाई शुभकामना दिएका थिए ।
उद्घाटन समारोह पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथिले मन्तव्यका क्रममा भारतमा उत्पादन हुने विद्युतीय स्कुटर नेपालका लागि उपयुक्त विकल्प भएको उल्लेख गर्दै खुला सिमानाका कारण पार्टपुर्जा तथा सेवा सहज रूपमा उपलब्ध हुने बताए । उनले सरकारको नीति तथा कार्यक्रममा पनि प्रदूषणरहित विद्युतीय सवारीलाई प्राथमिकता दिइएकाले आम उपभोक्ताले विद्युतीय सवारी प्रयोगतर्फ आकर्षित हुनुपर्ने धारणा राखे ।
कम्पनीका अनुसार नेक्सस ईएक्स स्कुटरमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको लिथियम फेरो फोस्फेट (एलएफपी) ब्याट्री जडान गरिएको छ । एकपटक फुल चार्ज गर्दा स्कुटरले १३६ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । घरमै चार्ज गर्न मिल्ने यसको ब्याट्री करिब साढे तीन घण्टामा पूर्ण चार्ज हुने बताइएको छ ।
स्कुटरमा मिड–माउन्ट मोटर, रिभर्स मोडसहित पाँच राइड मोड, डिस्क ब्रेक, एलोय ह्वील, अल–एलईडी लाइट, यूएसबी चार्जर तथा स्मार्ट कनेक्टिभिटी जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । साथै, एलएफपी ब्याट्रीमा ७५ हजार किलोमिटर वा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध गराइने बताइएको छ ।
दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकलाई लक्षित गर्दै बजारमा ल्याइएको एम्पीयर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको छ । ग्राहकहरूले पोखराको बुद्धचोकस्थित showroom पुगेर स्कुटरबारे जानकारी लिन तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
उद्घाटनकै दिन दुई वटा स्कुटर बिक्री भएको कम्पनीले जनाएको छ । स्कुटर खरिद गर्ने ग्राहकलाई प्रमुख अतिथि गोकर्ण कार्की र डीएनबी ट्रेड प्रा.लि.का अध्यक्ष बैकुण्ठ बरालले संयुक्त रूपमा चाबी हस्तान्तरण गरेका थिए ।





प्रतिक्रिया दिनुहोस