राष्ट्रिय फोटोपत्रकार समूह नेपाल कास्कीका सचिव प्रेम थापालाई अन्तर्राष्ट्रिय पुरस्कार
33 Views
पोखरा । बंगलादेश फोटो पत्रकार संघ (BPJA) को निमन्त्रणामा ढाकामा जारी सदभावना भ्रमणका क्रममा नेपाली फोटोपत्रकार प्रेम बहादुर थापालाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित “आईएचआई फोटोपत्रकार एप्रिसिएसन अवार्ड २०२६” प्रदान गरिने भएको छ। राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (NFPJ Nepal) का १० सदस्यीय प्रतिनिधि मण्डलको भ्रमण अन्तर्गत आगामी मे १ मा आयोजना हुने विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिने कार्यक्रम तय भएको हो।
NFPJ Nepal कास्कीका सचिवसमेत रहेका थापालाई फोटोपत्रकारिताको क्षेत्रमा पुर्याएको योगदान, पेशागत उत्कृष्टता तथा दृश्य पत्रकारितामार्फत सामाजिक यथार्थ उजागर गर्न खेलेको भूमिकाको कदरस्वरूप यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गर्न लागिएको जनाइएको छ।
बंगलादेश प्रस्थान प्रतिनिधि मण्डलको नेतृत्व NFPJ Nepal का अध्यक्ष प्रदीपराज वन्तले गरेका छन्। टोलीमा वरिष्ठ उपाध्यक्ष लेखा बहादुर श्रेष्ठ (सागर), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, तथा केन्द्रीय सदस्यहरू मुकुन्द बहादुर कालिकोट, हरिस नागाल, अनुप प्रधान, अजय लेन्सम्यान, प्रेम बहादुर थापा र उद्धव कुमार श्रेष्ठ सहभागी छन्।
सोमबार राति ११:२३ बजे बंगलादेश एयरलाइन्सको बिमान मार्फत टोली ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
विमानस्थलमा प्रतिनिधि मण्डललाई स्वागतको लागि बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिन, महासचिव बाबुल तालुकदार, उपाध्यक्ष जाहिदुल इस्लाम र पूर्व अर्थ सम्पादक मोइनउद्दिन अहमेदले स्वागत गरेका थिए। सो अवसरमा बंगलादेश सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत सूचना विभागका वरिष्ठ तथा सहायक सूचना अधिकृतहरू समेत उपस्थित थिए।
भ्रमणका क्रममा उनीहरूले विश्वकै लामो समुद्री तट अवलोकन गर्नेछन् भने चिट्टगाँगमा आयोजना हुने संयुक्त सेमिनारमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
३० अप्रिलमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गरिनेछ। उक्त प्रदर्शनीमा नेपालको पर्यटन तथा सांस्कृतिक विविधता झल्काउने ४० वटा तस्बिरहरू प्रदर्शन गरिनेछन्। यस कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
उक्त अवसरमा बंगलादेशका सूचना तथा प्रसारण राज्यमन्त्री Yasir Khan Chowdhury प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। सोही दिन बंगलादेश प्रेस इन्स्टिच्युटको आयोजनामा हुने सेमिनारमा सूचना तथा प्रसारण मन्त्री जाहिर उद्दिन स्वापनको उपस्थिति रहनेछ। मे १ मा बंगलादेश फोटो पत्रकार संघको कार्यालय अवलोकनपछि साँझ आयोजना हुने आईएचआई फोटोजर्नलिस्ट एप्रिसिएसन अवार्ड २०२६ समारोहमा टोली सहभागी हुनेछ।
यो भ्रमणले नेपाल बंगलादेशबीचको फोटोपत्रकारिता क्षेत्रमा आपसी सम्बन्ध, सहकार्य र सांस्कृतिक आदान प्रदानलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।





प्रतिक्रिया दिनुहोस