सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा २०२६
412 Views
पोखरा । बिरौटाकी सुप्रिया गोले तामाङले ‘मिस तामाङ पोखरा’को उपाधि जितेकी छिन् । शनिबार पोखरा इभेन्ट सेन्टरमा सम्पन्न दशौँ संस्करणको मिस तामाङ पोखरामा अन्य सात प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस कन्फिडेन्ट सबटाइटल सहित ताज पहिरिएकी हुन् ।
प्रतियोगिताको अन्तिम चरणमा प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सोधेको तामाङ समुदायको संस्कार र संस्कृतिसम्बन्धी प्रश्नमा उत्कृष्ट उत्तर दिँदै सुप्रियाले निर्णायकको मन जितेकी थिइन् ।
बैदाम तामाङ सेवा समाजको आयोजनामा भएको प्रतियोगितामा सोममाया तामाङ ‘मिस ब्यूटी विथ परपोज’ सहित फस्ट रनरअप बनिन् । त्यस्तै, सोनी तामाङले ‘मिस बेस्ट वक’सहित सेकेन्ड रनरअपको उपाधि हात पारिन् । कविना घिसिङ तामाङले ‘मिस पंक्चुअल’ र ‘भ्युयर्स च्वाइस’ टाइटल जित्दा माया लामाले ‘मिस कल्चर’ तथा ‘पपुलर अवार्ड’ प्राप्त गरिन् । खुसी तामाङ ‘मिस ट्यालेन्ट’, रोज लामा ‘मिस फोटोजेनिक’ र सलिना तामाङ ‘मिस बेस्ट स्माइल’ घोषित भइन् ।
विजेता सुप्रियाले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । फस्ट रनरअपले ५० हजार र सेकेन्ड रनरअपले ३० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । भ्युयर्स च्वाइस र मिस पपुलरका विजेतालाई २०–२० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेताहरूलाई नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङ, मिस तामाङ पोखरा २०२४ की विजेता तथा कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्व मिस तामाङ नेपाल रिया लामा, मिस तामाङ पोखरा २०२५ की विजेता शिशा लामा, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए । सबटाइटल विजेतालाई विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्यसँगै पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । मिस तामाङ पोखरा जस्ता कार्यक्रमले तामाङ समुदायका युवतीलाई नेतृत्व, चेतना र सकारात्मक सोचसहित अघि बढ्न प्रेरणा दिने उनले उल्लेख गरे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइवा तामाङ, कलाकार बुद्धी तामाङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा दिनेश डिसी, रिया लामा, विमला भण्डारी र बुद्धी तामाङ रहेका थिए । कार्यक्रममा गायक फुलकुमार बोम्जन, विवेक दोङ र सन्तोष बस्यालले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रम बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।





प्रतिक्रिया दिनुहोस