मिस तामाङ पोखरा २०८२ का प्रतियोगीहरूले ट्यालेन्ट शोमा दर्शक तथा निर्णायकको मन जिते
300 Views
पोखरा । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हुने ‘मिस तामाङ पोखरा–२०८२’ का प्रतियोगी युवतीहरूले आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेका छन् । आइतबार पोखरामा सम्पन्न ट्यालेन्ट शो कार्यक्रममा प्रतियोगीहरूले कला, सीप र सृजनात्मक क्षमतामार्फत दर्शक तथा निर्णायकको मन जितेका हुन् ।
प्रतियोगितामा आठ जना युवती सहभागी छन् । ट्यालेन्ट राउन्डमा रोज स्याङ्देन लामाले सेल्फ ब्राइडल मेकअप, कबिना घिसिङ तामाङले मेकअप कला तथा सोनी पाख्रिन तामाङले तामाङ सेलो नृत्य प्रस्तुत गरिन् । यस्तै, माया दुम्जन तामाङ र सुप्रिया गोले तामाङले गायन कला देखाए भने खुसी मोक्तान तामाङले लोकनृत्य प्रस्तुत गरिन् । सलिना स्याङ्देन तामाङले चित्रकला र सोममाया मोक्तान तामाङले हस्तकलाका सामग्री निर्माण गरी आफ्नो प्रतिभा प्रस्तुत गरिन् ।
कार्यक्रमका निर्णायक मण्डलमा गीतकार तीर्थ तामाङ, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापा र एसके डान्स एन्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक माया लामा रहेका थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रस्तुति उच्चस्तरको रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तामाङ समुदायको मौलिक कला, संस्कृति र आत्मविश्वास उजागर गर्ने बताएका छन् ।
गीतकार तामाङले प्रतियोगीहरू केवल सौन्दर्यको प्रतीक मात्र नभई तामाङ संस्कृतिको पहिचान र भविष्यका सशक्त संवाहक भएको धारणा व्यक्त गरे । पत्रकार महासंघ कास्कीका उपाध्यक्ष थापाले प्रतियोगिताले युवतीहरूको नेतृत्व क्षमता र सृजनशीलता अभिवृद्धि गर्ने बताए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक रोशिला ब्लोन तामाङले स्वागत मन्तव्य दिएकी थिइन् । अध्यक्ष तामाङले ‘मिस तामाङ पोखरा’ संस्कृतिसँगै पहिचान, क्षमता र आत्मसम्मानको उत्सव भएको बताए ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी माघ ३ गते शनिबार पोखरा इभेन्ट सेन्टर, बुलौंदी लेकसाइडमा हुने भएको छ । फिनाले कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा ‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङ प्रमुख अतिथि रहनेछन् ।
फिनालेमा कलाकारहरू बुद्धि तामाङ, दिनेश डिसी, फुलकुमार बमजन, विवेक दोङ र सन्तोष बस्याललगायतले विशेष प्रस्तुति दिनेछन् । प्रतियोगिताको विजेताले ताज, ट्रफी र प्रमाणपत्रसहित १ लाख रुपैयाँ नगद तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछिन् । फस्ट रनरअपले ५० हजार, सेकेन्ड रनरअपले ३० हजार र भ्युअर्स च्वाइसतर्फ विजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगीहरूलाई विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरूले प्रशिक्षण प्रदान गरेका छन् । प्रशिक्षण दिनेमा नेपाल जेसिजका पूर्वअध्यक्ष राजु केसी, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जय मल्ल, अधिवक्ता जुना गुरुङ, साइबर ब्युरोका प्रहरी वरिष्ठ नायब निरीक्षक दुर्गा योञ्जन, फिटनेस प्रशिक्षक ज्यास्मिन गुरुङ, तेक्वान्दो प्रशिक्षक रेग्मी माया गुरुङलगायत छन् ।
यस्तै, जोन्टा क्लब पोखराका अध्यक्ष रोजिना रञ्जित बिजुक्छे, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपक वाइबा तामाङ, भाषाविद् अजितमान तामाङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र घेदुङका पूर्वअध्यक्ष धनप्रसाद तामाङले पनि प्रशिक्षण दिएका छन् ।
प्रतियोगीहरूलाई बोल्ने कला, महिला सशक्तीकरण, तामाङ भाषा, संस्कार र संस्कृति, साइबर सुरक्षा, महिला अधिकार तथा आत्मरक्षा (सेल्फ डिफेन्स) जस्ता जीवनोपयोगी विषयमा तालिम दिइएको छ । कोरियोग्राफी जिता लामा, रोशिला ब्लोन र राम लामाले सिकाएका हुन् ।
कार्यक्रमका अफिसियल फोटो, भिडियो तथा कन्टेन्ट डाइरेक्टरको जिम्मेवारी गणेश बज्र लामा ले सम्हालेका छन् ।





प्रतिक्रिया दिनुहोस