धुर्वतारा युवा सेवा समाजको आयोजनामा २८६२ औं ता ल्हो सोनाम ल्होछार कार्यक्रम हुने
374 Views
दोरम्बा शैलुङ। दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्यमा धुर्वतारा युवा सेवा समाजद्वारा २८६२ औं ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछार कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम दोरम्बा शैलुङ गाउँपालिका–७ स्थित रमणीय तथा ऐतिहासिक स्थान थापा गाउँमा सम्पन्न हुने भएको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्व राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छा राम) रहनेछन्। यस्तै, विशेष अतिथिका रूपमा दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख मैनकुमार मोक्तान सहभागी हुनेछन्। गाउँपालिका अन्तर्गतका विभिन्न वडाका अध्यक्षहरू समेत अतिथिको रूपमा कार्यक्रममा उपस्थित रहने कार्यक्रम रहेको छ।
धुर्वतारा युवा सेवा समाजका सचिव जयनकुमार कोक्तानका अनुसार कार्यक्रममा तामाङ समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी, युवा, महिला तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहनेछ।
तामाङ समुदायको मौलिक चाड सोनाम ल्होछारलाई भव्य रूपमा मनाउँदै तामाङ संस्कार, संस्कृति, परम्परा, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ। साथै, आपसी एकता र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने लक्ष्यसमेत कार्यक्रमले लिएको छ।
सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। कार्यक्रममा गायक सञ्जीव वाइबा, कृष्ण रेउले, मिलन लामा, प्रमिला मोक्तान, संजय थोकर, कर्म मोक्तान तथा कमला दोङको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
सानो शैलुङको काखैमा अवस्थित दोरम्बा शैलुङ गाउँपालिका–७ धार्मिक, सांस्कृतिक, भाषिक तथा भेषभूषाको दृष्टिले महत्वपूर्ण क्षेत्र हो। यहाँ उत्पादन हुने प्रख्यात सुन्तला तथा पर्यटकीय सम्भावनाले समेत यस क्षेत्रलाई चिनाएको छ। सोनाम ल्होछार कार्यक्रमले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस