गुप्तेश्वर महादेव गुफामा वाद्यवादन एक महिने तालिम शुरु
94 Views

पोखरा । पोखरा -१७ स्थित गुप्तेश्वर महादेव गुफामा एक महिने वाद्यवादन तालिम शुरु भएको छ ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको आयोजना तथा बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालको संयोजनमा गुफा परिसरको सभाहलमा मंगलबारदेखि तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बालन एवं कला संस्कृति प्रतिष्ठान नेपालका परिकल्पनाकार खगराज शर्मा आचार्यले हामीले आफ्नो कला संस्कृतिको रक्षा र संरक्षण गर्नुपर्ने बताए ।
नेपाली मौलिक संगीत र धर्म सँग जोडिएको वाद्यवादनको विधालाई समेटेर तालिम आयोजना भएकोमा आचार्यले खुसी व्यक्त गरे । आफ्नो मौलिक धर्म, संस्कृति र कला नभएको मानिसको जीवन निरर्थक हुने जिकिर गर्दै उनले वाद्यवादनले जीवन जगतलाई सत मार्गमा डोर्याउने बताए ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष एवं संगीतकार नवराज बरालले तालिमका सहभागीहरूलाई तालिमको तालिका र आचारसंहिताको बारेमा प्रस्ट पारेका थिए ।
गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्रधानाचार्य विजयराज आचार्यले गुप्तेश्वरले विविध सामाजिक क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै शिक्षा र तालिमसँगै स्वास्थ्य क्षेत्रमा पनि गुप्तेश्वर अघि बढ्न लागेको बताए ।
कार्यक्रमका सभापति गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण बास्तोलाले वाद्यवादन तालिमले सहभागीहरू भित्रको कलालाई निखार्ने विश्वास व्यक्त गरे ।
नेपाली मौलिक संगीतलाई सामाजिक स्तरमा जगेर्ना गर्ने उद्देश्यका साथ आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई समेटेर तालिम आयोजना गरिएको तालिमका संयोजक कृष्ण प्रसाद पोखरेलले जानकारी दिए ।
वैशाख ५ गते सम्म संचालन हुने तालिममा ४५ मिनेटको एउटा पिरियड बनाएर उत्कृष्ट प्रशिक्षकबाट दिनमा तिन पिरियड कक्षा संचानल हुने पोखरेलले बताए । तालिम अन्तर्गत आइतबार, मंगलबार र बिहीबार हार्मोनियम र बाँसुरी तथा सोमबार, बुधबार र शुक्रबार खैँजडी, मुजुरा र मादलका कक्षा संचालन हुने संयोजक पोखरेलले जानकारी दिए ।
तालिममा सहभागी मध्ये उत्कृष्ट तिन जनालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । तालिममा छोरेपाटन टोल सुधार समितिका अध्यक्ष उत्तम सिग्देल, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुबेदी लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस