संगम सहकारीको बिस्तारित मञ्च न्युरोडमा
168 Views

पोखरा । पोखरा १० रामबजारमा प्रधान कार्यालय रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले न्यूरोडमा रहेको सुगम सेवाकेन्द्रको कारोबार वृद्धिलाई लक्षित गरि बिस्तारित मञ्च कार्यक्रम आयोजना गरेको छ ।
प्रमुख अतिथि जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष दिपकराज बाँस्तोलाले संस्था ठुलो बनाउने होड भन्दा पनि स्वस्थ बनाउने तर्फ लाग्नुपर्ने भन्दै संगम सहकारी बेलैमा त्यसतर्फ लागेको हुनाले नै आज गण्डकी प्रदेशकै उत्कृष्ट बन्न सफल भएको बताए र बधाई समेत व्यक्त गरे । साथै उनले सहकारी क्षेत्रको अहिलेको असहज अवस्थाको चुनौतीलाई सामाना गर्दै समाधानका उपायहरु खोजी गरि सहज वातावरण बनाउन आफ्नो नेतृत्वको जिल्ला संघ लागिपरेको बताए ।
पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य लक्ष्मी पहारीले आफ्ना वडामा भएका सहकारी मध्ये संगम सहकारी राम्रोसँग संचालन भएको थाहा पाउदा खुसी लागेको बताउदै आगामी दिनमा वडा कार्यालयसँग समन्वय गरेर महिला लक्षित कार्यक्रमहरु संचालन गर्न समेत अनुरोध गरिन् ।
सल्लाहकार संयोजक निरज थापाले साना तथा मध्यम वर्गका निम्ति हुनुपर्ने सहकारी क्षेत्रमा आफुलाई ठुला भनाउदाहरुको प्रवेश हुनु र बढी महत्वाकांक्षी योजना ल्याउनाले यो क्षेत्र धुमिलिदै गएको बताए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले असल ब्यक्तिहरुको नेतृत्वदायी भुमिकाले नै संगमको उचाईलाई बढाउदै लगेकोमा खुसी व्यक्त गरे ।
कार्यक्रम संयोजक तिलक थापाले ब्यक्तिगत वा संस्थागत जिवनमा कुनै समस्या आए भागेर हैन भाग लिएर अगाडी बढेमा सफलता प्राप्त गर्न सकिने बताए ।
सहकारीका अध्यक्ष नबराज तिवारीको अध्यक्षता, सचिव धनराज पुरीको संचालनमा भएको कार्यक्रममा वरिष्ठ ब्यवस्थापक बृहस्पति अधिकारीले संस्थागत प्रस्तुति राखेका थिए भने हरिहर पराजुली, ई.प्रशान्त रानाभाट, रुद्रमणि ढुंगाना, सीता नेपाली, लेख बहादुर प्रधान, लक्ष्मण पौडेल लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।
प्रतिक्रिया दिनुहोस