हिलसाइड इङ्लिस स्कुलको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
479 Views
पोखरा। संस्कारयुक्त जीवनोपयोगी व्यावहारिक शिक्षामा जोड दिएको पोखराको हिलसाइड इङ्ग्लिस स्कुलको ३० ओैँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह प्रजातन्त्र दिवसको अवसर पारी विद्यालय प्राङ्गणमा भव्यताका साथ बुधबार सम्पन्न भएको छ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गरेको उक्त कार्यक्रममा विद्यालयका निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत गरेका थिए। यसै अवसरमा प्रमुख अतिथिले कुनै पनि देशको विकास र विनासमा शिक्षाको ठुलो भूमिका रहने कुरा उल्लेख गर्दै हिलसाइडले देशविकास गर्ने संस्कारयुक्त जनशक्ति उत्पादन गरिरहेको कुरा व्यक्त गरेका थिए। यसका साथै विद्यालयले सञ्चालन गरेका गतिविधि र विद्यार्थीमैत्री वातावरणका बारेमा पनि खुलेर प्रशंसा गरेका थिए ।
शैक्षिक गतिविधिका साथ जीवनोपयोगी सन्देशमूलक नाटक, विषयगत विषयवस्तु समेटिएको भजन, विभिन्न देशप्रेमी सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा वरिष्ठ लोकगायक तारापति सुवेदीले उपस्थित अतिथि, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थी सबैलाई गीतका साथ छमछम नचाएका थिए।
शिक्षकद्वय मीनप्रसाद सुवेदी र मुना पराजुली सुवेदीलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिएको उक्त समारोहमा प्रदेश र जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रममा सहभागी भएर विभिन्न विधामा प्रथम र द्वितीय स्थान हात पार्न सफल विद्यार्थीहरू आडिल भट्टराई, आर्जन सुवेदी, वृन्दा शर्मा, मान्वी नेपाली र किन्जल भुजेललाई पनि सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि वर्ष ०८१ मा विद्यालयले सञ्चालन गरेका गतिविधिहरू उल्लेख गरेका थिए । साथै उनले विगतदेखि वर्तमानसम्मको स्मरण गर्दै विद्यार्थीमैत्री वातावरणमा संस्कारयुक्त व्यावहारिक शिक्षा प्रदान गर्ने विषयमा विद्यालय प्रतिबद्ध रहेको कुरा पनि व्यक्त गरे ।
यसै अवसरमा पोखरा महानगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष, शिक्षा महाशाखा पोखराका विद्यालय निरीक्षक रामप्रसाद तिवारी, राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका उपनिर्देशक वसन्त पौडेल, नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, अभिभावक विष्णुप्रसाद दाहाल, विद्यार्थीद्वय आडिल भट्टराई र प्रियङ्का भण्डारी लगायतले बोलेका थिए।
यसै वर्षबाट नयाँ व्यवस्थापनका साथ व्यावहारिक शिक्षा दिँदै अगाडि बढेको त्यस विद्यालयले विद्यार्थीहरूमा भएको अभिव्यक्ति सिपको विकासका लागि ुहिलसाइड हेराल्डु नामक बाल पत्रिकाको प्रकाशन पनि सुरू गरेको कुरा विद्यालय स्रोतले जनाएको छ। उक्त पत्रिका वार्षिकोत्सव समारोहमा लोकार्पण गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बरालको अध्यक्षतामा सम्पन्न उक्त समारोहको सञ्चालन विद्यार्थी समूहका साथ शिक्षक होमनाथ भट्टराई र पत्रकार तथा कलाकार सुशील नेपालीले गरेका थिए।





प्रतिक्रिया दिनुहोस