कवि प्रदीप खनालको काव्यसंग्रह लोकार्पण
462 Views
पोखरा । पोखराको जेठो साहित्यिक संस्था पोखरेली साँस्कृतिक परिवारले कवि प्रदीप खनालको पहिलो कविता संग्रह “ अनन्त यात्रा “ एक समारोहका बीच लोकार्पण ग-यो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाली साहित्यका सुप्रसिद्ध स्रष्ठा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्दै “ जीवन भनेकै अनन्त यात्रा हो । हामी कुन अनन्तबाट आयौं र कहाँ जान्छौं ? हामी समयको यौटा चरणमा यहाँ छौं र पछिको यात्रा कस्तो हुन्छ भन्नेकुरा यहाँबाट जानेले बताएका छैनन् । हामी यौटा बिशाल भवचक्रका बीचमा छौं । यहाँ कति ज्ञात अनन्तता छन् भनें कति अज्ञात अनन्तता छन् । मलाई यो बिशालता, यो शूक्ष्मता किन छ भन्ने लाग्छ । कुनै एक अज्ञात शक्तिले कवितात्माक लयमा यो संसारको सिर्जना गरेजस्तो लाग्छ । यो सृष्टिको कर्मदेखि नै कविताको कर्म भए झैं लाग्छ । मानिसले पनि विभिन्न क्षेत्रमा राम्रा काम गरेर कविताकै सिर्जना गरिरहेका हुन्छन् र आशलाग्दो काव्य प्रतिभा प्रदीप खनालले अनन्त यात्रा काव्य संग्रह प्रकाशित गरेर आँफुलाई असल कर्ममा समाहित गरेका छन् ।” भन्दै स्रष्ठालाई शुभकामना प्रकट गर्नुभयो ।
प्रमिला आचार्य शर्माले कृतिको समीक्षा गरेको कार्यक्रममा प्रतिभा मा.वि.का प्राचार्य किरण सापकोटा र नारायण पौडेलले पनि शुभकामना मन्तव्य दिएका थिए भनें मणिप्रसाद डुम्रे, विपि लम्साल र केशु शर्माले विमोचित कृतिबाट एकेक थान कविता वाचन गरेका थिए ।
त्यसैगरी परिवारका पूर्वअध्यक्ष एवं सल्लाहकार जीवनसागर भण्डारीले स्रष्ठा परिचय दिएका थिए ।
संस्थाका अध्यक्ष रीता अधिकारी ऋतुको समापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले स्वागत गरेका थिए भनें कार्यक्रमको संचालन संस्थाको सचिव एमडि काफ्लेले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस