ऊ- पुनः अनलाइनमा देखापर्यो(कवि खोजराज गोले)
231 Views
एक दिन मैले मृत्युलाई मोबाइल गरेरै भनेको थिएँ-
सँगै बसेर केही गिलास चिया पिऔंन ।
उसले फूर्सद मिलाएर कल गर्छु भनेको थियो ।
तर पनि उसले कल गर्दै गरेन
त्यसैले मनमा चीसो पस्यो-
कतै मेरो मृत्युकै पो
मृत्यु त भएन ?
हत्त न पत्त- टि.भि. च्यानल खोलेँ
रोड दुर्घटनामा परेर
दशै मनाउन गएका मानिसहरू मारिएका रहेछन् ।
दृश्यसहितको समाचार देखेपछि पो थाहा भयो-
ऊ कता व्यस्त रहेछ भन्ने ।
कता पल्किएछ भन्ने ।
फेरि मोबाइल डायल गरेको
रिसिभ नै गरेन ।
ल्याण्डलाइनबाट गरेको
बल्ल पो उठायो ।
बुढो स्वरमा बोलेको सुनेन भन्दै थियो ।
केटीको स्वरमा बोलेको त-
हौसिएर बोल्न थाल्यो ।
म त खोजराज हुँ ! हा हाSSS
लामो हाँसो हाँसेँ ।
लाज लागेछ क्यारे-
फोन काटिदियो ।
त्यसपछि अझैसम्म पनि सम्पर्क भएको थिएन ।
तर आजै मात्र फेसबूकमा
फ्याट्ट भेटियो ।
‘लौ चोर समातियो !’ मात्र के भनेको अफलाइन पो भैदियो ।
फेसबूक मेसेजमा हेरेको-
उसले मलाई एउटा मेसेज छोडेको रहेछ ।
खोलेर हेरेँ-
लेखेको रहेछ- ‘म तिम्रै गर्लफ्रेण्ड नै त होइन नि ।’
‘किन मेरो पछि लाग्छौ ?
किन मलाई खोज्छौ; खोजराज ?’
अझ अगाडि लेखेको रहेछ-
‘अचेल म तिम्रै पीरले झीरमा उनिएको माछीजस्तै भएको छु ।
सुकेर ज्यान सिन्का भइसकेको छ ।
त्यसैले दया गरी मलाई छाडिदेऊ ।’
मैले रिप्लाईमा लेखेँ-
सरी, आइ बेग योर पार्डन !
तर मैले तिमीलाई भेट्न खोज्नुको मुख्य कारण जान्न चाहान्छौ ?
सुन-
मैले मृत्युपछि स्वर्ग छिर्ने बेला
तिम्रै लागि के उपहार ल्याइदिनुपर्ला भन्ने विषयमा
कुतुहलता लागेर मात्रै भेट्न खोजेको हुँ ।
तर तिमी किन-
ज्यालामा नमिलेको- मजदूर र मालिकजस्तै बन्छौ हँ ?
किन तिमी त पार्टीहरू र नेताहरूजस्तै हुन्छौ हँ ?
यहाँ चोर र प्रहरीको त जोडी बाँधिन्छन् ।
मन्त्री भैसक्या मानिसै पो अपहरणको मुद्दा खेप्छन् ।
अनि
तिमीचाहिँ बर्थै किन-
किन मदेखि भाग्छौ ?
आऊ ! अझै केही बिग्रिएको छैन ।
दोहोरीमा दुवैजना दोहोरी गाऔंला ।
तरुनीहरूसित कम्बर ठोक्काउँदै नाचौंला
अन्यथा तिमी-
मेरो नजरमा सदाको लागि मर्नेछौ ।
यसरी मैले- दोहोरी र उपहारको कुरा के उप्काएको
एक्कासी
ऊ- पुनः अनलाइनमा देखापर्यो ।
प्रतिक्रिया दिनुहोस