यस बर्षको ताया: मचा नृत्य प्रतियोगिता-२०८१ नयाँबजार सास्कृतिक समितिको आयोजनामा हुने
381 Views
पोखरा । नेवाः खलः कास्कीद्वारा गाईजात्रा पर्वको पावन अवसरमा गरिने नियमित कार्यक्रम तायाः नृत्य प्रतियोगिता यस बर्ष नयाँबजार सास्कृतिक समितिको आयोजना हुने भएको छ ।
स्वर्गभूमि पोखरा आफैमा प्रकृतिले सिँगारिएको अनुपम सहर हो भन्दा अत्युक्ती नहोला । यहाँ बसोबास गर्ने विभिन्न जातिय समुदायहरुको विभिन्न पर्व विशेषहरुमा प्रस्तुत गर्ने मौलिक सांस्कृतिक उत्सवहरुले यो सहरको महिमालाई अझ बढाउने काम गरेको छ ।
हामीलाई थाहा छ हाम्रो भाषा, संस्कृति र परम्परा हाम्रो पहिचान हो । २१ औं शताब्दीको आजको समयमा यसको महत्त्वलाई आत्मसाथ गर्दै सबै जातिय समुदायहरुले आ-आफ्नो संस्कृति परम्पराको संरक्षणमा विशेष जोड दिँदै आएको छ जुन आफैमा प्रशंसनीय काम हो ।
करिब २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वको उपलक्ष्यमा निकालिने तायाः मचा नृत्य पोखराको मौलिक ऐतिहासिक नृत्य हो । जुन पोखराको पहिचानको रुपमा प्रस्तुत हुँदै आएको छ । यो नृत्य हिजो एउटा समुदायको मात्र थियो भने आज सम्पूर्ण पोखरेलीहरुको साझा सम्पत्ति भएको छ । यो नृत्य हरेक वर्ष सम्पूर्ण पोखरेलीहरुको सांस्कृतिक उत्सवको रुपमा प्रस्तुत हुँदै आएको पनि यहाँहरुलाई अवगत गराउन चाहन्छु ।
कुनै पनि सहरको पहिचान भनेको त्यहाँको प्राकृतिक सौन्दर्य, व्यवस्थित बसाइ, सर-सफाइ, त्यहाँ बसोबास गर्नेहरुको जीवनशैली आदि इत्यादी साथ साथै त्यहाँका जातिय सांस्कृतिक पर्वहरु पनि हो भन्दा अत्युक्ती नहोला ।
संसारका विभिन्न देशहरु आफ्ना सांस्कृतिक उत्सवहरुले पनि चिनिने गरेका छन् । यस अर्थमा पोखरामा प्रचलनमा रहेका विभिन्न सांस्कृतिक पर्वहरुमध्ये हरेक वर्ष गाईजात्राको उपलक्ष्यमा निकालिने तायाः मचा नृत्य धार्मिक मान्यताका हिसाबले पितृ उद्धार कार्य साथै सांस्कृतिक हिसाबले यो नृत्य पोखराको पहिचानको रुपमा प्रस्तुत हुँदै आएको छ। हाम्रा पुर्खाहरुले प्रचलनमा ल्याएको यस्ता सांस्कृतिक पर्वहरुले हामीबिच सामाजिक सदभाव, माया, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेर समाजलाई एक सुत्रमा बाँध्ने महत्त्वपूर्ण काम गरेको छ। त्यसैले यस्ता मौलिक पर्वहरुको संरक्षण हुनुपर्ने भन्ने कुरामा हाम्रो जोड रहेको तायाः मचा नृत्य प्रतियोगिताको मूल उद्देश्य भनेको परापूर्व कालदेखि हाम्रा पुर्खाहरुले प्रचलनमा ल्याएको तायाः मचा संस्कृतिको संरक्षण गर्नु, परम्परागत, मौलिक संस्कृतिको माध्यमबाट आन्तरिक र वाह्य पर्यटनलाई आकर्षण गर्नुको साथै नयाँ पुस्ताहरुलाई यसको महत्त्व बुझाई यसको निरन्तरताको बोध गराउनु रहेको छ।
कुनै पनि कार्यक्रम सफलताका साथ सम्पन्न गर्न आर्थिक पक्षको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यसर्थ समितिले प्रायोजकको वर्गीकरण गरेर अर्थ सङ्कलन गर्ने योजना अगाडि सारेको छ । त्यसैगरी स्थानिय सरकार, पोखरा महानगरपालिका, विभिन्न वडा कार्यालयहरू, विभिन्न व्यवसायिक प्रतिष्ठानहरु र मनकारी उदारमना दाताहरुसँग पनि आर्थिक सहयोगको अपेक्षा राखेका छौं । आशा छ हामीलाई सबैको साथ र सहयोग प्राप्त हुनेछ।
गत वर्ष झै यस वर्ष पनि तायाः मचा नृत्य प्रतियोगिता-२०८१ का लागि आवश्यक सम्पूर्ण नगद पुरस्कारहरु मातापिता स्व. हेमप्रसाद र स्व. बालकुमारी श्रेष्ठको स्मृतिमा उहाँको सुपुत्रहरु पोखरा महानगरपालिका वडा नं. ३ निवासी श्री रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठ परिवारबाट प्राप्त हुने नेवाः खलः कास्कीबाट जानकारी प्राप्त भएको छ। अतः नयाँबजार सांस्कृतिक समिति उदारमना दाता श्रेष्ठ परिवारहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं साथै यस कार्यको आवश्यक व्यवस्था मिलाउनु हुने नेवाः खलः कास्कीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौं ।
त्यसैगरी यस प्रतियोगिता अन्तर्गत आयोजकको तर्फबाट प्रदान गरिने आवश्यक सम्पूर्ण मायाको चिनोको लागि पोखरा महानगरपालिका वडा नं. ९ निवासी “सानुमान राजमान भाडा उद्योग”, पोखराका प्रोप्राइटर यस समितिका सल्लाहकार श्री राजमान ताम्राकरज्यूबाट सौजन्य प्राप्त हुने वचन वद्धताले हामीलाई थप हौसला मिलेको छ । यसका लागि हामी उहाँप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौं । हामीले सबै शुभचिन्तकज्यूहरुबाट यस किसिमको सहयोगको लागि हार्दिक अपिल पनि गर्दछौं ।
यस वर्ष प्रतियोगिता अन्तर्गत महिला/पुरुष समूह गरी विभिन्न टोलका ३६ वटा नृत्य टोलीले सहभागिता जनाउने अनुमान गरिएको छ ।
नेवाः खलः कास्कीले तायाः मचा नृत्य प्रतियोगिता-२०८१ सम्पन्न गर्ने जिम्मेवारी नयाँबजार सांस्कृतिक समितिलाई दिएसँगै “संस्कृति परम्पराको प्रबर्द्धनः पहिचानको संरक्षण” भन्ने मूल नाराका साथ यस टोलका अन्य सहयोगी संस्थाहरु नेवाः मिसा पुच नयाँबजार, ल्याम्ह पुच नयाँबजार र नेवाः कल्याणकारी गुठी नयाँबजार यसको तयारीमा जुटेको र आज मिति २०८१ असार २२ गते शनिबार यहाँहरुसँग साक्षातकार गर्ने “पत्रकार भेटघाट” कार्यक्रम सहित औपचारिक रुपमा सचिवालय संचालन गरेको पनि सम्बन्धीत सबैलाई जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको छ ।
कुनै पनि कार्यक्रमको सफलतामा प्रचारप्रसारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । हामीलाई आशा एवम् विश्वास छ हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रम सम्बन्धी जानकारी लिन पाल्नु हुने विभिन्न मिडियासँग आवद्ध तलाई पत्रकार मित्रहरुले यसको प्रचारप्रसारलाई आफ्नो कर्तव्य सम्झी जिम्मेवारी पूरा गर्नुहुने कुरामा हामी विश्वस्त छौं र यसका लागि हामी यहाँहरुसँग हार्दिक आग्रह पनि गर्न चाहन्छौं ।
अन्तमा नेवाः खलः कास्की, नयाँबजार सांस्कृतिक समिति, सहयोगी संस्था नेवाः मिसा पुच नयाँबजार नेवाः ल्याम्ह पुच नयाँबजार, नेवाः कल्याणकारी गुठी र म मूल संयोजक शम्भुलाल श्रेष्ठको नेतृत्वमा गठित कार्यसम्पादन समिति लगायत सम्पूर्ण आयोजक टोलबासी “तायाः मचा नृत्य प्रतियोगिता-२०८१” सभ्य र भव्यताका साथ सम्पन्न गर्न लागेको यस परिप्रेक्षमा हामी सम्पूर्ण कास्कीबासी, नगरबासी, शुभेच्छुक लगायत सम्पूर्ण मिडियाकर्मीज्यूहरुको सद्भावपूर्ण सहयोगको अपेक्षा सहित उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं । सबैको जय होस् ।
कार्यक्रम :
तायाः मचा नृत्य प्रतियोगिता :- २०८१ भाद्र ८ गते शनिबार
स्थान : गण्डकी प्रदेश सङ्ग्रहालय रोड, शिव गणेश मार्ग औपचारिक उद्घाटन : बिहान ८:०० बजे
प्रतियोगिता शुभारम्भ : बिहान ९:०० बजेबाट
शम्भुलाल श्रेष्ठ (मूल संयोजक, प्रतियोगिता सम्पादन समिति)
अनिशा श्रेष्ठ (संयोजक, प्रचारप्रसार)
अशोक पालिखे अध्यक्ष, नेवाः खल कास्की)
योगेन्द्रमान बाटाजू (अध्यक्ष, नयाँबजार सांस्कृतिक समिति)
प्रतिक्रिया दिनुहोस