गणेशमान फाउन्डेसनले गण्डकी प्रदेशका पाँचजना प्रजातान्त्रिक योद्धा सम्मानित
496 Views
पोखरा, जेठ १९ गते गणतन्त्र दिवसको सन्दर्भ पारेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउनुभएका व्यक्तित्वहरुलाई गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रजातन्त्र सेनानीहरुमा मनाङ जिल्लाका कोमल बहादुर घले, बाग्लुङका गोबिन्दप्रसाद शर्मा कंडेल, स्याङ्जाका तारापति सुबेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा रहनुभएको छ ।
उहाँहरुलाई पूर्व सभामुख दमननाथ ढुंगाना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेताहरुले कदर–पत्रका साथ दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा बोल्नुहुदै पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताउनुभएको छ । उहाँले २००७ सालदेखिको इतिहासले मात्र काँग्रेस सवल भएर जान नसक्ने बताउनुहुदै अबको लडाई साम्यवादी चरित्र भएका कम्युनिष्टसँग रहेको बताउनुभयो । प्रधानीमन्त्री बन्ने होडमा मात्रै नभई देश बनाउने दल र नेताको खाँचो रहेको बताउनुभयो । कम्युनिष्ट र प्रजातन्त्रवादी बिच सधै अन्तरविरोध हुने भएकाले आजको संकट निम्तिएको उल्लेख गर्नुभयो । विपि र गणेशमानको राष्ट्रिय मेलमिलापको नीति लिएर भएपनि कम्युनिष्टहरुलाई समेटेर लानुपर्ने उहाँको भनाई थियो ।
उहाँले प्रधानमन्त्री प्रचण्ड तर्फ लक्षित गर्दै प्रधानमन्त्री जस्तो व्यक्तिले सधै उथल पार्छु भन्ने अभिव्यक्तिले मुलुकलाई झनै अस्थिरता तर्फ लगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
मुलुकमा टिआरसी विद्येयक टुङ्गो लगाउनुपर्ने अवस्थामा कम्युनिष्टहरु जिम्मेवार नभएको बताउनुभयो । उहाँले राजनिति पार्टी र दलका नेताहरु भ्रष्टचारमा चुर्लुम डुबेकाले यस्तो फोहोरलाई सफा गरेर लैजानुपर्नेमा जोड दिनुभयो । युवाहरु विदेश पलायन भैरहेको अवस्थामा मुलुकले दिर्घकालिन रुपमा ठूलो चुनौतीको सामना गर्नुपर्ने समेत बताउनुहुदै राष्ट्रिय एकताको बाटोमा सबै दल लाग्न प्रेरित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले विपि र गणेशमानको मार्ग छोड्लै जाँदा काँग्रेसमा संकट आएको बताउनुभयो ।
काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने विचार राख्नुभयो ।
त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट ल्याएको संविधानलाई पार्टीहरुकै कारणले खतरा भएको बताउनुभयो । उहाँले न्यायिक सर्वोच्चता र न्यायिक मर्यादाको बारेमा चुनौति आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा तिम्सिनाको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य शारदा पौडेल, गुरु बराल, सम्मानित व्यक्तित्व लेखबहादुर थापा, सदस्य मोहन गुरुङ, सचिव कुमार राना लगायतले गणेशमान सिंहको व्यक्तित्व र काँग्रेसका बारे आ–आफ्नो भनाई राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस