झोलुंगे पुलमा फसेका खच्चड ५ घण्टापछि ११ वटाको उद्धार
258 Views
दैलेख, २७ जेठ । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको एकातर्फको लट्ठा चुँडिदा फसेका खच्चडमध्ये दुईटाको मृत्यु भएको छ ।
पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको भने पाँच घन्टापछि उद्धार गरिएको छ। जीर्ण भइसकेको झोलुंगे पुलको लठ्ठा चुँडिदा जालीमा खुट्टा अड्किएर खच्चड फसेका थिए।
८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको हो।
नदीमा खसालिएका ८ वटा खच्चडलाई डुंगाको सहायताले किनारमा लगिएको थियो। पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन। एउटा खच्चड पुलमै र अर्कोलाई जाली काटेर नदीमा खसाएपछि मृत्यु भएको जनाईएको छ।
पुलमा फसेका खच्चडको उद्धार गर्न अछाम र दैलेखबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। खच्चडहरू आइतबार बिहान करिब ९ बजे पुलमा अड्किएका थिए।
पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले बताउनुभयो।
प्रतिक्रिया दिनुहोस