“प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सम्पन्न
129 Views

कास्की, १४ चैत । नेपालको पर्यटन राजधानी पोखरामा राष्ट्रिय स्तरको “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सम्पन्न भएको छ । प्रतियोगिताको ५ सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ ।
विजेता समूहले नगद रु.२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा नारा पोखरा द्धितिय र नेपाली सेनाको समूह तेस्रो भएका छन् । उनीहरूले क्रमशः रु.१ लाख र रु.६० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना भएको वेगनासताल डुङ्गा व्यवसायी समितिले नगद रु.२५ हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको २ सय मिटर तर्फ पुरुष समूहमा नारा पोखरा प्रथम भएको छ भने, वाटर स्पोर्टस् समूह दोस्रो भएका छन् । यस्तै हर्पन पोखरा मच्त्छ्य सहकारी समूह तेस्रो भएको छ । खास्टे न्युरेनी समूह सान्त्वना भएको छ । २ सय मिटर तर्फको विजेताले नगद रु.१ लाख, उपविजेताले रु.७५ हजार, तेस्रोले रु.४० हजार प्राप्त गरेको छ । यसै गरी २ सय मिटर महिला तर्फ बेगनास व्यवसायी मत्स्य समिति प्रथम भएको छ ।
वेगनासताल डुङ्गा व्यवसायी समिति दोस्रो र जलारी दिदी बहिनी समूह तेस्रो भएका छन् । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट सङ्घ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सह आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १३ समूहको सहभागिता रहेको थियो ।
प्रतियोगिताले पर्यटन राजधानी पोखराको पर्यटन प्रवर्द्धन तथा वाटर स्पोर्टस् विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले महानगरको नीति तथा कार्यक्रम मै समावेश गरी व्यवस्थित रूपमा वाटर स्पोर्टस् सञ्चालनका लागि प्रक्रिया अघि बढाएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस