देश भर सोनाम ल्होछर भव्यताका साथ मनाईदै
121 Views

कास्की, २७ माघ। आज देश भर तामाङ समुदायले सोनाम ल्होछर घर घरमा मनाईदै छ । मञ्जु श्री संवत २८६० औँ ढुक(मु पुख्रि) ल्हो को अवसरमा सोनाम ल्होछर भव्यताका साथ मनाईरहेको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरि सोनाम ल्होछर मनाइन्छ ।
ल्होछरमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्गलाई बिदाइ र नयाँ वर्गलाई स्वागत गरि धार्मिक र सांस्कृतिक विधिअनुसार सोनाम ल्होछर मनाईने गर्दछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ ओटा वर्गमा विभाजन गरिएको छ ।तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि ल्होछर मनाइँदै छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरि यो पर्व मनाउने प्रचलन रहेको छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङ जातिहरुले भव्यताका साथ सोनाम ल्होछर मनाउने गर्दछ । वि.सं.२०४६ सालको जनआन्दोलन पछि आ-आफ्नो पर्व स्वतन्त्र रुपमा मनाउन पाईने कानुन बनेपछि तामाङ जातिहरुले सोनाम ल्होछर वि.सं. २०५१ साल देखि मनाउन सुरु गरेको पाईन्छ ।
चन्द्र पात्रोमा आधारित सोनाम ल्होछर यस वर्ष माघ को २७ गते परेको छ । यो ल्होछर तिथि मिति अनुसार मनाईने हुनाले कुनै बेला फागुन महिनामा समेत सोनाम ल्होछर पर्ने गरेको पाईन्छ । सोनाम ल्होछरको अवसर पारि विभिन्न तामाङ संघ संस्थाहरुले यो पर्वलाई बृहत रुपमा मनाउन थालेका छन् । त्यसैगरी आज पोखरा महानगरपालिका वडा नं. १५ राम बजार लक्ष्मी टोलमा समाजसेवी हरिमान थिङको नेतृत्वमा सोनाम ल्होछर भव्यताका साथ सम्पन्न गरिएको छ ।
“वि.सं. २०६२ सालमा हरिमान थिङको नेतृत्वमा पहिलो पटक लेखनाथ भण्डारढीकमा सोनाम ल्होछर मनाईएको थियो । त्यसपछि उनि बसोबास स्थल राम बजारमानै लगातार ल्होछर पर्व मनाउने गरेको उहाँले बताउनु भयो ।” बिगत दुई दशक देखि आफ्नो परिवार हरुलाई भेला गराई सामुहिक रुपमा सेतो टिका र कोको म्हेंदो लगाएर ठुलाको हातबाट आशिर्वाद लिने र सानोलाई आशिर्वाद दिंदै सोनाम ल्होछर मनाउने गरेको बताउनु भयो । रामबजारको लक्ष्मी टोलमा ३/४ धुरी मात्रै तामाङ समुदाय रहेता पनि सोनाम ल्होछरको दिनमा टिका ग्रहण गर्नेको समूह निकै भिडभाड देखिन्थ्यो ।
उहाँले आँफु भन्दा सानोलाई सेतो टिका र कोको म्हेंदो लगाउनु भई आशिर्वाद दिनुभएका थिए भने आँफु भन्दा ठुलाका हातबाट टिका ग्रहण गरि आशिर्वाद लिनुभएका थिए । तामाङ जाति भित्रका बुद्ध धर्मवलम्बिहरुले विशेष गरि सेतो टिका र कोको म्हेंदो ग्रहण गरि सोनाम ल्होछर मनाईने गर्दछ । सोनाम ल्होछरलाई स्थापित गर्नका लागि घर घरमा ठुलाको हातबाट आशिष लिएर हरेक वर्ष हर्सोउल्लासाका साथ सोनाम ल्होछर मनाईने गर्दछ ।
प्रतिक्रिया दिनुहोस