गजल
81 Views

विजेता बन्ने म नै हुँ भन्दै, सबैसँग बाजि ठोकेको छ।
प्रश्नपत्रमा जे प्रश्नै छैन, त्यसैको उत्तर घोकेको छ।।
कति खुसी हुन्थ्यो होला, यो अवसर देख्न पा’को भए।
सधैं पछार्ने समाजले उसलाई आज काँधमा बोकेको छ।।
उसले ठूलै नेतासँग न्याय माग्दैछ, अवस्य पाउँछ।
जबकि अदालतले जन्मकैदको सजाय तोकेको छ।।
“नारी दिवसको शुभकामना” उसले फेसबुकमा लेख्यो।
बुढीको दबाई खाने पैसा चोरी, बिहानै रक्सी धोकेको छ।।
बा! त्यो लालपुर्जा मलाई नदिई कतै नजानुहोस् है।
बृद्धाश्रम जान हिंडेका बाको खुट्टा तानेर रोकेको छ।।
लाल कार्की अन्जान
प्रतिक्रिया दिनुहोस