पोखरा,पृथ्वीचोक, पृथ्वीनारायण शाह र लखन थापा
341 Views
हिमाली सांस्कृतिक परिवारले आयोजना गर्ने कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्न आज २०८० भदौ १ गते,शुक्रवार म पोखरा आएको छु।याङ्जाकोट मेरो गाउँ हो र पोखरा मेरो ठाउँ हो।पढ्न भनेर २०१८ माघमा म गाउँबाट पोखरा झरेँ।पोखरा,रामघाटस्थित सोल्जर्सबोर्ड हाई स्कुल(वर्तमान अमरसिंह उच्च माध्यमिक विद्यालय) बाट मैले SLS गरेँ।पृथ्वीनारायण कलेजबाट IA र BA गरेँ।पोखरामा नै सानो तिनो जागिर पनि खाएँ।काठमाण्डौबाट गाउँमा जान सजिलोको लागि पोखराको भैरवटोल, लामाचौतारामा बास बस्ने एउटा ठाउँ बनाएको छु।यसरी पोखरासंग मेरो आत्मा गाँसिएको छ।गण्डकी प्रदेश, कास्की जिल्ला र पोखराका कृयाकलापहरुमा मेरो प्रत्यक्ष संलग्नता नभए तापनि यहाँका गतिविधिहरुमा म चासो राख्दछु।त्यसकारण पोखराको पृथ्वीचोक, पृथ्वीनारायण शाह,जङ्गबहादुर राणा र लखन थापासंग संवन्धित घटनामा पनि मैले चासो राखेको छु।यस संवन्धमा विभिन्न महानुभावहरुले आ-आफ्नो विचार राख्नु भएको छ।अत: यस संवन्धमा आफ्नो विचार राख्नु मेरो पनि कर्तव्य र दायित्त्व हो।नेपाल सरकारको आयोजनामा एउटा चिनियाँ कम्पनिले धादिङको नौबिसेदेखि पोखरासम्म राजमार्ग निर्माण गय्रो।पोखरामा नयाँ बजार र नागढुङ्गाको बीचमा उक्त राजमार्गको जिरो पोइन्ट थियो।त्यस जिरो पोइन्टलाई मानिसले चाइना चोक भन्न थाले।त्यसपछि उक्त राजमार्गको पृथ्वी राजमार्ग नामकरण भयो।पोखरास्थित उक्त राजमार्गको जिरो पोइन्टमा पृथ्वीनारायण शाहको पूर्ण कदको प्रतिमा स्थापना गरेपछि उक्त चोक पृथ्वीचोक कहलिन थाल्यो।अहिले त्यहाँ पृथ्वीनारायण शाहको प्रतिमालाई तोडफोड गरेर लखन थापा मगरको प्रतिमा स्थापना गरेर लखनचोक नाम राखिएको छ तर जनबोलिमा भने लखनचोक प्रचलित हुन सकेको छैन र पृथ्वीचोक कै नाउँमा प्रसिद्ध छ।
पृथ्वीनारायण शाहको समय भन्दा धेरै अघि नै पोखरामा नेवारहरुको बस्ती बसिसकेको थियो।अहिले पोखराले बजारको सीमालाई नाघेर महानगर बनेको छ तर पोखरा महानगर कुनै बेलाको नेवार हटियाको विकशित रूप हो। त्यसकारण पोखराको बजार व्यवस्थापन र यहाँको आर्थिक समुन्नतिमा नेवार वन्धुहरुको मुख्य योगदान रहेको छ र अहिले नेवारहरु कै घर, आगनमा यो कचिङ्गल मच्ची रहेको छ।
कास्कीका राजा शिव शाह( वि.सं.१७०४-१७३१) ले पोखरा, रामघाटको सिद्धगुफा, वैरागी वन र मुक्तिनाथ जाने साधु सन्तका लागि सदावर्तको व्यवस्था गरेका थिए।अहिले रामघाटका वैरागीहरुको संग्रहमा रहेको लालमोहरले यही कुरा भन्छ र त्यही वैरागी वन पल्तिर अहिले यो कचिङ्गल मच्चिएको छ।
त्यसपछि कास्कीका राजा शिव शाह बडो उत्साहित भएर लमजुङको रुदिसम्म साँध लगाउँछु भनेर तल्लो बाटोबाट लमजुङ माथी आक्रमण गरेछन् तर पाख्रिकोटले घर्काए पछि रुदिसम्म पुग्न सकेन।भाचोक र पख्रिकोटका बीचको वार्दिसम्म मिचेर लग्यो।त्यसपछि साविक लमजुङ हाल कास्की ,६ गाउँ , याङ्जाकोटका मीर उमरा वीरसिंह क्ह्रोँगि लामा गुरुङको तैनाथमा लमजुङले कास्कीमाथी आक्रमण गय्रो।कास्कीको ओखलेगौँडामा ठूलो लडाईँ भयो।लमजुङेहरु ओखलेगौँडा उक्लेर अर्घौँ, ठूलाकोट जितेर विजयपुरको साँध लगाए।यसरी हाहाकार भयो र कास्कीको मालमूलमा गण्डकी प्रदेशका बाह्र राजाको भेला भएर सन्धी गरे।कास्कीको फल्याङकोट र दाङ्सिमय्राङ लमजुङको र लमजुङको बरालडाँडा कास्कीको कित्तामा पारेर कास्की र लमजुङको साँध पुन: मादी नै कायम गरियो।यस शान्ति संझौताको प्रतिकको रूपमा मालमूलको टुँडोमा चौतारा चिनियो, जुन चौतारा अहिले राजाको चौताराको नामबाट प्रसिद्ध छ।
पृथ्वीनारायण शाहले नुवाकोट जिते पछि उनी काठमाण्डौ जित्ने ताकमा थिए।काठमाण्डौका राजा जयप्रकाश मल्लका काभ्रे पलाञ्चाेक तिरका काशीराम थापा क्षेत्री उमरा थिए।गोरखालीले जितेको नुवाकोटलाई उकास्न जयप्रकाश मल्लले काशीराम थापालाई पठाएका थिए तर काशीराम थापाले गोरखालीलाई जित्न सकेन र उनी जयप्रकाश मल्ललाई मुख देखाउन नसकेर आफ्नो घर गएर बसे।उद्दण्ड स्वभावका जयप्रकाश मल्लले काशीराम थापालाई पशुपतिको गौरीघाटमा बोलाएर त्यहीँ काटिदिए।काशीराम थापाका भाइ परशुराम थापा जयप्रकाश मल्ल कै सेवामा थिए।उनलाई जयप्रकाश मल्लले आफ्ना दाइलाई काटेको ईबी साध्नु थियो।अत: परशुराम थापाले पृथ्वीनारायण शाहलाई बोलाएर जयप्रकाश मल्ललाई काबु गर्ने र पृथ्वीनारायण शाह पूर्वतिर बढे पछि बाइसे र चौबीसेलाई उठाएर गोरखालाई ध्वस्त पार्ने र आफैँ सर्वे सर्वा हुने योजना बनाउन लागे।त्यसपछि प्ररशुराम थापाले पृथ्वीनारायण शाहलाई काठमाण्डौमा आक्रमण गर्न आउनू म सहयोग गर्छु भने।उता आफ्ना भाइलाई चाहिँ बाइसे चौबीसे उठाएर गोरखामा आक्रमण गर्नू भनेर पठाए छ्न्। पृथ्वीनारायण शाहले परशुराम थापाका भाइ यस कामका लागि पोखराको हटियामा पुगेकाछन् भनेर थाह पाए।परशुराम थापाका भाइलाई बैठाएर आउन कस्ले सक्छ ? भनेर नुवाकोटमा ठूलो भारदारी सभा भयो।कसैले पनि आँट गर्न सकेन।आखिरमा पृथ्वीनारायण शाह स्वयंले यो काम झाँगल गुरुङले सक्छ भनेर उनलाई यस काममा खटाए।गोरखा,सिरानचोक,तल्लो पामका झाँगल म्लोँह्रोँ घोताने गुरुङले पृथ्वीनारायण शाहको आज्ञालाई शिरोपर गरि गाइनेको भेष गरेर परशुराम थापाका भाइलाई बैठाएर आए।त्यसपछि पृथ्वीनारायण शाहलाई पछाडिपट्टी दगा भएन र उनी अघि बढ्न सके।पृथ्वीनारायण शाहको समयमा पोखरा,विन्द्यवासिनीका पण्डित राजीवलोचन पराजुली ठूला विद्वान थिए।पण्डित राजीवलोचन पराजुलीले पृथ्वीनारायण शाहलाई आफ्नो बुद्धिबलबाट सघाएका थिए।
श्याङ्जा,सतौँ, डहरेको लेकमा भएको युद्धमा पृथ्वीनारायण शाहका सेनापति शिवरामसिंह बस्नेतका माहिला छोरा केहरसिंह बस्नेतले वीरगति प्राप्त गरे।त्यसपछि दोहोरो युद्ध नचाल्नू भनेर पृथ्वीनारायण शाह पूर्वतिर मात्रै लागे।
पृथ्वीनारायण शाहले माझकिरातका स्वरूपसिंह कार्कीलाई आफ्ना छोरा प्रतापसिंह शाहका अङ्गरक्षक बनाएका थिए।प्रतापसिंह शाहको निधन पछि उनका रानी राजेन्द्रलक्ष्मीले नायवी चलाइन्।त्यसबेला काजी स्वरूपसिंह कार्की हर्ताकर्ता थिए।राजेन्द्रलक्ष्मीको नायवीकालमा पश्चिमतिर कालीगण्डकीको साँध लाग्यो।कालीगण्डकीको साँध लागे पछि सबै पोखरा आएर बसेका थिए।त्यही बेला राजेन्द्रलक्ष्मीको देहान्त भएर पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले नायवी चलाए। बहादुर शाहले नायवी चलाए पछि काजी स्वरूपसिंह कार्की पोखरामै काटिए।
अब पोखरा कर्मथलो भएका झाँगल गुरुङ, सतौँ , डहरेको लेकको युद्धमा वीरगति पाएका केहरसिंह बस्नेत र सरकार पक्षबाट पोखरामा काटिएका काजी स्वरूपसिंह कार्कीप्रति जनताको जनमत र सरकारको नीति के हुन्छ ? भन्नोस्।
कालीगण्डकीको साँध लागे पछि वि.सं.१८४२ मा कीर्तिसिंह नेवारलाई मादी पश्चिम कालीपूर्व नेवारको चौधराईँ दिएको थियो।यी कीर्तिसिंह नेवार कहाँका हुन् ? त्यो कुरा थाह पाउन सकिएको छैन।यिनको खान्कीमा कास्कीको भट्ट खेत दरिएको हुनाले यिनी पोखरा कै नेवार हुन सक्छ।कीर्तिसिंह पछि सुब्बा जीताराम पोखराका नेवारको चौधरी भए।चौधरी सुब्बा जीतारामले वि.सं.१८४९ मा पोखराको भीमसेन मन्दिर बनाएर पोखराको बजारलाई सुव्यवस्थित बनाए।चौधरी सुब्बा जीतारामले बनाएको पोखराको भीमसेन मन्दिरमा उनका गुरुङ मीत कास्की,मौजा,लामडाँडाका अरिदमन कम्पनीका जमदार खाँगे चोँलुह्रोँ घोताने गुरुङले सुनको गजूर चढाएका थिए।
जङ्गबहादुर राणाको पालामा भोटसंगको लडाईँ हुँदा देशको साँध सीमाना पनि हेरौँ, मुक्तिनाथको दर्शन पनि गरौँ भनेर जङ्गबहादुर राणा पोखरा आए।पोखराका करुणानिधि कोईरालाका पुर्खा चामु जैसीले जङ्गबहादुर राणालाई भोट हान्ने साइत हेरिदिए।भोटको लडाईँ जिते पछि जङ्गबहादुर राणाले चामु जैसीलाई पोखराको गैरापाटनमा १६ पाथी घैयाको बीउ जाने जग्गा विर्ता दिए।घान्द्रुङका खड्गसिंह प्ल्हन लामछाने गुरुङले जिउ धनले जङ्गबहादुर राणाको सेवा गरे।जङ्गबहादुर राणा खुशी भएर जहाँ घान्द्रुङ ,त्यहाँ लान्द्रुङ भनेर खड्गसिंह प्ल्हन लामछाने गुरुङलाई लान्द्रुङ विर्ता दिए।थाक, कोवाङका कालु धिमचन थकालीलाई भोटको युद्धमा उनले देखाएको वीरताको कदर गर्दै सुब्बा वलवीर शेरचनको पदवी र नाम दिए।
जङ्गबहादुरको समयमा गोरखाका लखन थापा मगरले मनकामनाले गोरखाको राज्री मलाई दियो भनेर विद्रोह गरे।वि. सं.१९३३ मा लखन थापालाई उनकै घरको आगनमा झुण्ड्यार मृत्यु दण्ड दिइयो।जङ्गबहादुर राणा कै समयमा गोरखा, सातथर घर भएका सुपति गुरुङले म नौ सरकार, बौद्धवादशाह भएँ भनेर विद्रोह गरे।सुपति गुरुङको कतै पत्ता लागेन।उनका मतियार शुकदेव गुरुङ पक्राउ परे।वि.सं.१९३३ चैतमा बन्दी अवस्थामा नै पोखरामा शुकदेव गुरुङको मृत्यु भयो।
कास्कीको ल्वाङ,साँखुका कुम्भसिंह म्हिगिह्रोँ घोताने गुरुङ र ल्वाङ, युमुका चन्द्रसिंह म्हिगिह्रोँ घोताने गुरुङ जङ्गबहादुर राणाका हजूरिया कप्तान थिए।वीरशमशेर राणाको पालामा खडग शमशेर राणाको मतियार भनेर चन्द्रसिंह गुरुङलाई पोखरामा ल्याएर मृत्यु दण्ड दियो तर चन्द्रसिंह गुरुङ निर्दोष रहेछ भनेर त्यसको क्षतिपूर्ति बापत उनका भतिजा नैनसिंह गुरुङलाई सोझै कप्तानको मान दिएको थियो।
मैले यति लामो वेलिविस्तार लगाउनाको कारण अब यी व्यक्तिहरु प्रतिको जनमत के हुन्छ ? र सरकारको नीति के हुन्छ भनेर हो।
चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति भनेर सबै कुरा ड्याङ्ग र डुङ्ग गरेर बिगारे भत्काए तर माओत्सेतुङमा चेतना आयो र हाम्रा सांस्कृतिक सम्पदाहरु बिगार्न हुँदो रहेन छ भनेर आफुले बिगारेका ठुटा ठुटीहरु समेलेर त्यसको संरक्षण गरे।पृथ्वीनारायण शाहको आर्थिक नीतिलाई त्यसको दुइसय पचास वर्ष पछि नौलो जनवादी अर्थतन्त्र भनेर लागु गरे ।पृथ्वीनारायण शाहको एक भाषा र एक संवतको नीतिलाई आज कम्युनिष्ट देशहरुले अपनाई रहेका छन्।पृथ्वीनारायण शाहले नेपालबाट ईसाईहरुलाई निकाला गरेको दुइसय पचास वर्ष पछि भारतमा महात्म गान्धीले भारत छोड आन्दोलन गरे। यसरी माओत्सेतुङ्को प्रेरणाको श्रोत पनि पृथ्वीनारायण शाह।महात्मा गान्धीको प्रेरणाको श्रोत पनि पृथ्वीनारायण शाह।कम्युनिष्टहरुको प्रेरणाको श्रोत पनि पृथ्वीनारायण शाह।
देशको राजनैतिक व्यवस्था भनेको आ-आफ्नो अवस्था र आवश्यकता अनुसार फाप अफाप हुन्छ।अत: नेपालमा जे जस्तो सुकै राजनैतिक व्यवस्था भए पनि पृथ्वीनारायण शाहको दिव्य उपदेशले नेपालको राज्य व्यवस्थाका लागि निर्देशिक सिद्धान्तको काम गर्दछ।त्यसकारण पृथ्वीनारायण शाह नेपाल र नेपालीका लागि हिँजोको पनि आवश्यकता हो, आजको पनि आवश्यकता हो र भोलीको पनि आवश्यकता हो।
अब रह्यो जङ्गबहादुर राणाको कुरा।जङ्गबहादुर राणाले तिब्बतलाई नेपालको करद बनायो।वि. सं.१९१२ देखि वि. सं.२०१२ एक शताब्दीसम्म तिब्बतले नेपाललाई वर्षेनी खुरु खुरु रु. १००००/- सिर्तो तिर्थ्यो।सुगौली सन्धिमा नेपालले गुमाएको बाँके,बर्दिया,कैलाली ,कञ्चन्पुरलाई जङ्गबहादुर राणाले फिर्ता ल्यायो।अंग्रेजसंग सन्धी गरेर जङ्गे पिलर खडा गय्रो , जुन जङ्गे पिलरलाई आज हामीले कायम गर्न सकेका छैनौँ। जङ्गबहादुर राणाले मुलुकी ऐन बनाएर नेपाललाई कानूनी राज्यको स्वरूप प्रदान गय्रो।अझै के के चाहि?
के आज दमन छैन ?के पारीवारिक र जहानियाँ संयन्त्र छैन ?
त्यसकारण अन्ततोगत्वा लखन थापा मगरको शालिकलाई ससम्मान यथोचित स्थानमा स्थापना गरेर पोखराको पृथ्वीचोकमा श्री ५ पृथ्वीनारायण शाहको पूर्ण कदको विशाल प्रतिमा स्थापना गर्न अत्यावश्यक छ।यो नै मेरो अभिमत हो।
वयं राष्ट्रे जागृयाम पुरोहिता:!!
डा जगमान गुरुङ को सामाजिक संजाल बाट साभार
प्रतिक्रिया दिनुहोस