महिला वित्तीय साक्षरता तथा सामान्य लेखा हिसाब सम्बन्धी तालिम सम्पन्न
266 Views
पोखरा । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ढिकुरपोखरी कास्कीको महिला वित्तीय साक्षरता तथा सामान्य लेखा हिसाब सम्बन्धी तालिम सोमबार अन्नपुर्ण गाँउपालिका वडा नं २ मा सम्पन्न भएको छ। वित्तीय संस्थाको ढिकुरपोखरी शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो।
तालिमको उद्घाटन गर्दै अन्नपुर्ण गाँउपालिका प्रमुख विष्णुबहादुर केसीले वित्तीय संस्थाहरु गाउँ गाउँ घरदैलोसम्म त्यसै आएका होइनन् गरिब विपन्न पिछडिएका वर्ग तथा महिलाहरुलाई विना धितो सामुहिक जमानीमा कर्जा प्रवाह गरी उद्यमशिलता विकास गर्दै आर्थिक पहुँचका साथै आर्थिक विकासमा योगदान पुर्याउन आएको बताए। यस्ता बैंक तथा वित्तीय संस्थाबाट लिईएको कर्जालाई सही सदुपयोग गरी असल ऋणी बनी आर्थिक लाभ लिनुपर्ने तथा बैक वा वित्तीय संस्थाबाट लिएको ऋण समय र भुत्तानी तालिका अनुसार नै तिर्नुपर्ने सबैलाई सुझाव दिए।
अन्नपुर्ण गाँउपालिका उपप्रमुख चन्द्रकला देवकोटा अधिकारीले वित्तीय संस्थाबाट जुन व्यवसाय गर्ने उद्धेश्यको लागी कर्जा लिएको हो, सोही व्यवसायमा नै कर्जा सदुपयोग गर्नुपर्ने बताईन। लक्ष्य बिना कर्जा प्रयोग गर्दा वित्तीय कारोबारमा असर पर्ने तथा कर्जा लिने व्यक्तीलाई समेत कर्जा भुत्तानी गर्न कठीनाई हुने हुनाले विचार पुर्याएर मात्र कर्जा प्रयोग गर्न सहभागीलाई आग्रह गरिन्।
तालिममा ढिकुरीपोखरी शाखाका शाखा प्रबन्धक विवेक आचार्यले वित्तीय साक्षरताको आवश्यकता र महत्व, सामान्य लेखा हिसाब सम्बन्धी ज्ञान र वित्तीय संस्थाहरुसँग कारोबारको फाईदा, यसले विपन्न वर्ग तथा महिला उद्यमशिलतामा पारेको सकारात्मक प्रभाव र आर्थिक विकासमा महिला सहभागिता विषयमा सहजीकरण गरेका थिए।
तालिममा सहभागी कल्पना भण्डारीले तालिमबाट वित्तीय ज्ञानको महत्व बुझेको र संस्थाद्वारा दिईएको सामान्य लेखा हिसाब, व्याजदर हिसाब र दैनिक आय व्याय हिसाब राखेर कार्य गर्दा वित्तीय व्यवस्थापन गर्न सकिने अनुभव सुनाईन्।
त्यस्तै अर्का सहभागी सावित्रा अधिकारीले वित्तीय संस्थाबाट कर्जा लिई भैंसिपालन व्यवसाय शुरु गरेको र हाल दुध बिक्रीबाटै दैनिक आवश्यक खर्च धान्न सफल भएको बताइन्। करिब ५० जना महिलाको सहभागीता रहेको कार्यक्रममा अन्नपुर्ण गाँउपालिका २ का वडाध्यक्ष पिताम्वर भण्डारी लगाएतले वित्तीय क्षेत्रको विषमा आफ्नो धारणा राखेका थिए। अन्नपुर्ण गाँउपालिका २ का वडा सदस्य माया अधिकारीको अध्यक्षतामा भएको कार्क्रमको सञ्चालन संस्थाका कर्मचारी राजकुमार अधिकारीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस