अक्षरयात्राको द्विशतक श्रृंखला शताब्दी घरमा सम्पन्न
417 Views
“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक किसिमले भव्य रुपमा मनाउँने उदेश्य अनुसार कालीगण्डकी संरक्षण एवं शताब्दी घर पर्वतका अभियन्ता आरके अदिप्त गिरीको संस्था शताब्दी घर तथा कुश्मा कला परियोजनाको स्थानीय आयोजनामा शताब्दी घरमा गर्ने योजना अनुसार पर्वत पुगेका अक्षरयात्रीहरुलाई असार पन्ध्रमको बेलुकी आठबजे आरके अदिप्त गिरी, साहित्यकार शंकर गिरी लगायतले स्वागत गरेका थिए ।
दिनभरीको झरी त छँदै थियो । बेलुकी पनि कुश्मा बजार झरीले निथ्रुक्कै भिजेको थियो । शताब्दी घरमा ओच्छ्याइएका गुन्द्रीमा पटेली मारेर बसेर पर्वतका साहित्यकारहरुसंगको भलाकुसारी गरेर बेलुकी बित्यो । खानापछि स्थानीय होटेल स्वर्गमा रात बिताउँने व्यवस्था थियो । रातभर अविरल वर्षा भैरह्यो । सोह्र गते शनिवार बिहानभर पनि अविरल वर्षा भएको हुनाले कार्यक्रम अनुसार बिहान रमण गरेर सोचे अनुसार काव्य सिर्जना गर्ने उद्देश्यमा बाधा पुग्यो । तैपनि निर्धारित समयभन्दा केही ढिलो शताब्दी घरको माथिल्लो तलामा बसेर अक्षरयात्राको द्विशतक श्रृंखला कार्यक्रम संचालित भयो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ़ सम्बन्ध छ भन्दै आफ्नी प्रातःस्मरणीय माताको सम्झना गरे । आँफु तीन वर्षको हुँदा आमाको देहान्त भएको र यही कालीगण्डकी नदीमा दाहसंस्कार भएको भएको कुरा बताए । आँफु तेह्र वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा बताइ सबैलाई भावुक बनाए । अभियन्ता आरके गिरी अदिप्तले कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सत्तिसाल झैं उभिएको कुराको प्रशंसा पनि गर्दै काव्य वाचन गरे । प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आँफुले जीवनमा तीनसय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा नौलो अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित गीत सुनाइन् । हरीदेवी कोइरालाका गीत सुनेर तृप्त हुने त कुरै थिएन । पटक पटक गीतका फर्माइस आइरहे र उनले पटक्कै झिझो नमानी गाइरहिन् ।

बाहिर झम् झम् असारे झरी परिरहेको थियो भनें शताब्दी घरको माथिल्लो तल्लामा संचालित कार्यक्रममा पचासी वर्षिय साहित्यकारले उत्साहपूर्वक गीत र गजल सुनाइरहेका थिए भनें प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, लक्ष्मण बिश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, साबित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, घायल श्री , निर्मल पौडेल लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर तत्स्थानीय रुपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए ।
शताब्दी घर तथा कुश्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजलसन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा संचालित कार्यक्रममा स्वागत मन्तव्य आरके अदिप्त गिरीले गरेका थिए भनें साहित्यकार प्रान्जलले कार्यक्रमको संचालन गरेका थिए ।





प्रतिक्रिया दिनुहोस