साउदी जान कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य
359 Views
काठमाडौँ, २९ जेठ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ । साउदीको पछिल्लो निर्णयअनुसार नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दूतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाणपत्र पेस गरेमा मात्रै भिसा जारी हुनेछ । प्रमाणित शैक्षिक योग्यता नभएमा सोमबारदेखि भिसा नदिने साउदी दूतावासले सूचना जारी गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार साउदीसहित खाडी देशमा अदक्ष काममा जाने कामदारको बाहुल्यता छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतिवेदन–२०२२ अनुसार खाडी जाने कामदारमध्ये व्यावसायिक भिसामा ०.०८, उच्चदक्ष ०.००६, दक्ष ३५.५, अर्धदक्ष ६.९ र अदक्ष काममा ५७.६ प्रतिशत थिए । अदक्ष काममा जानेमध्ये अधिकांश कामदारको शैक्षिक योग्यता एसईईभन्दा कम छ । खाडीमै निर्माण क्षेत्रमा काम सिकेर दक्ष हैसियतमा पुगेकासँग समेत शैक्षिक योग्यता छैन । तर, उनीहरू अरबी भाषा र काममा पोख्त छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरबले शैक्षिक प्रमाणपत्र मागेको भन्दै भिसाका लागि आवेदन दिने काम बन्द गर्न व्यवसायीलाई आग्रह गरेको छ । ‘माथिल्लो तहको काममा जानेसँग शैक्षिक योग्यता माग्नु अन्यथा हुँदैन । तर, लेबर काममा जाने साधारण लेखपढ भएको व्यक्तिको पनि माग्नु अनावश्यक दुःख दिने कार्य मात्रै हो,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने, ‘साउदी सरकारले यो समस्या हल नगरेसम्म हामी भिसाका लागि आवेदन दिँदैनौं ।’
प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण सम्बन्धित विद्यालयले गरेपछि प्रमाणीकरणका लागि शिक्षा मन्त्रालयमा आउनुपर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । शिक्षाले प्रमाणीकरण गरेपछि कामदारले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रलाई परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट प्रमाणित गराउनुपर्नेछ । त्यसपछि काठमाडौंमा रहेको साउदी दूतावासमा गएर त्यसलाई प्रमाणीकरण गर्नुपर्छ । साउदी दूतावासले प्रमाणीकरण गरेपछि मात्र कामदारले भिसा प्रक्रिया सुरु गर्न पाउनेछन् ।
‘पहिला आफू पढेको विद्यालयबाट प्रमाणीकरण गराएपछि आफ्नो पालिका वा जिल्ला समन्वय इकाइमा जानुपर्छ । त्यहाँबाट प्रमाणीकरण गराएपछि बल्ल शिक्षा मन्त्रालयमा आउनुपर्छ । शिक्षाले प्रमाणीकरण गरेपछि परराष्ट्र पठाइदिन्छौं,’ उनले भने । अब एउटा कामदारले आफ्नो शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्न ५ वटा तह पार गर्नुपर्छ ।
अध्यक्ष भण्डारीले साधारण लेखपढ गर्न जान्नेहरूले शैक्षिक प्रमाणपत्र पेस गर्न निकै झन्झट हुने बताए । परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले शिक्षा मन्त्रालयबाट शैक्षिक प्रमाणपत्रलाई प्रमाणीकरण गरेपछि मात्रै आफूले प्रमाणीकरण गर्ने गर्छ । शिक्षा मन्त्रालयले पनि त्रिभुवन विश्वविद्यालय र उच्चशिक्षा परिषद्बाट प्रमाणीकरण भएपछि मात्रै प्रमाणीकरण गर्ने गर्छ ।
साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको छ । शैक्षिक प्रमाणपत्र प्रमाणित गर्न नसक्ने कामदारले अब लेबर काम गर्न पनि साउदी जान पाउने छैनन् । गत आर्थिक वर्षमा खाडी मुलुकमा २ लाख ९० हजार ३९ गएकामध्ये साउदी अरब जाने मात्रै १ लाख २५ हजार २ सय ३७ जना थिए ।
श्रम बजारसम्बन्धी साउदीको कानुन र नीतिगत व्यवस्थामाथि पनि प्रश्न उठ्दै आएको छ । एउटा करारपत्रमा सम्झौता गरेर कामदारसँग रोजगारदाताले करारपत्र नै फेरबदल गर्ने अभ्यास छ । यस्तो रोजगारदातामाथि साउदी सरकारले कारबाही गर्न सकेको छैन । ‘साउदीमा कफला प्रणाली भएका कारण कामदारलाई बाध्यकारी श्रममा लगाइएको छ,’ आप्रवासी कामदारको अध्ययन गर्ने इक्विडेम फाउन्डेसनका दक्षिण एसियाका निर्देशक रामेश्वर नेपालले भने, ‘साउदीले कामदारको हितका लागि आफ्ना कानुनहरू सुधार गर्नुको सट्टा अदक्षको पनि शैक्षिक प्रमाणपत्र खोज्नु थप हैरानी दिने काम हो । यस्तो व्यवस्था कुनै पनि देशले गरेको छैन ।’





प्रतिक्रिया दिनुहोस