एमबीबीएस डाक्टर २ हजार ९ सय ४ जना र विशेषज्ञ चिकित्सक ५ हजार ७ सय ७९ आवश्यक
460 Views
काठमाडौँ, २९ जेठ । देशभरका स्वास्थ्य संस्थामा ६३ हजार २ सय २६ स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ । हालै गरिएको एक सरकारी अध्ययनले दुर्गमका स्वास्थ्य चौकीदेखि सहरका अस्पतालसम्ममा एमबीबीएस र विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मीको अभाव रहेको देखाएको हो । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानेर उक्त अध्ययन गरेको हो ।
एमबीबीएस डाक्टर २ हजार ९ सय ४ जना र विशेषज्ञ चिकित्सक ५ हजार ७ सय ७९ थप आवश्यक रहेको प्रतिवेदनमा औंल्याइएको छ । देशभर पाँच बेडदेखि ५ सय बेड क्षमताका अस्पताललाई सञ्चालन स्वीकृति दिए पनि सरकारले आवश्यकताअनुसार दरबन्दी भने थप्न सकेको छैन ।
प्रतिवेदनमा जनशक्तिको उत्पादन र मागको तालमेलसमेत नमिलेको औंल्याइएको छ । मानव स्वास्थ्यसम्बन्धी विधामा कार्यरत जनशक्तिलाई १२ तह र क्षेत्रमा वर्गीकरण गरेर अध्ययन गरिएको थियो । विशेषज्ञ चिकित्सक, एमबीबीएस डाक्टर, नर्सिङ, वैकल्पिक चिकित्सा र सहायकस्तरका स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी नर्सिङ (पीसीएल) र प्रसूति सहायकसम्बन्धी जनशक्तिको उत्पादन बढी रहेको पाइएको छ । तर नर्सिङ, आयुर्वेदलगायत वैकिल्पक चिकित्सा र सहयोगीस्तरका तर विशेषज्ञ सेवा दिने जनशक्तिको उत्पादनमै कमी रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
अध्ययनले मुलुकमा आवश्यक स्वास्थ्य जनशक्ति र त्यसको उपलब्धताको प्रक्षेपण गरेकोमा देशभरका स्वास्थ्य संस्थाअनुसार जनशक्ति कम देखिएको हो । २ लाख ७५ हजार २ सय ३ स्वास्थ्य जनशक्ति आवश्यक पर्नेमा २ लाख ११ हजार ९ सय ७७ जना मात्रै कार्यरत रहेको पाइएको आयोगका उपाध्यक्ष तथा जनशक्ति प्रक्षेपण अध्ययन कार्यदलका संयोजक श्रीकृष्ण गिरीले बताए ।
पछिल्ला वर्षमा स्नातक, स्नातकोत्तर तहमा नर्सिङ, आयुर्वेद कोटामा विद्यार्थी भर्नामा कमी आएको छ । उच्च शिक्षामा नर्सिङ अध्यापन गराउन पाउने मेडिकल कलेजका ४० सिट कटौती गरेर आयोगले २० सिटमा झारेको छ । ‘सरकारी स्वास्थ्य संस्थाले विशेषज्ञ सेवाका लागि दरबन्दी कायम नगर्ने, निजीले पनि विशेषज्ञभन्दा तल्लोस्तरकै कर्मचारीलाई रोजगारीमा अवसर दिने भएकाले आकर्षण घटेको हो,’ उपाध्यक्ष गिरीले भने ।





प्रतिक्रिया दिनुहोस