एकीकृत बस्ती शिलान्यास गरेको दुई वर्ष बित्दा पनि काम सुरु भएन सन्थाल बस्ती
346 Views
सुनसरी,२९ जेठ । सन्थाल समुदायका लागि एकीकृत बस्ती शिलान्यास गरेको दुई वर्ष बित्दा पनि काम सुरु हुन सकेको छैन । २०७७ फागुन १८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसहित तामझाम साथ मोरङको उर्लाबारी–८ मा सन्थाल समुदायका एकीकृत बस्तीको शिलान्यास गरेका थिए ।
चिटिक्क परेका घर बनाएर सन्थाल समुदायलाई राख्ने बताएका उनले भाषण गरेको दुई वर्षपछि पनि घर बन्ने टुंगो लागेको छैन । बस्ती निर्माणस्थल रहेको उर्लाबारीस्थित रातो होली खेल्सीको उत्तर–दक्षिण क्षेत्रफलमा फैलिएको ७ सय ८० मिटर लम्बाइ क्षेत्रफल रहेको छ । त्यसभित्र पर्ने ५२ हजार ८ सय २८ वर्गमिटर जग्गामध्ये ३१ हजार ७ सय ६८ वर्गमिटरमा बस्ती विकास गर्ने भनिएको थियो ।
एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि २०७५ अनुसार स्थानीय प्रविधि, सीप र सामग्री प्रयोग गरी प्रत्येक परिवारका लागि दुई कोठा, एउटा भान्सा घर र एक शौचालयसहित संरचना निर्माण गर्ने योजना सामेल छ । सडक, खानेपानी, मनोरन्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गरी चाँडै हस्तान्तरण गर्ने तत्कालीन प्रधानमन्त्री ओलीले आश्वासन दिएका थिए । निर्माण गर्न लागिएको बस्तीका लागि छुट्याइएको जग्गाको विवाद नसुल्झाई हतारहतार शिलान्यास गरिएकाले काम अगाडि बढ्न नसकेको उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले बताए ।
उर्लाबारी–८ र ९ को खोला किनारमा ७० सन्थाल घरपरिवार दयनीय अवस्थामा गुजारा चलाइरहेका छन् । उनीहरूलाई नै लक्षित गरेर उक्त बस्ती शिलान्यास गरिएको थियो । सीमान्तकृत सन्थाल समुदायको पूर्वी नेपालको झापा र मोरङमा मात्रै बसोबास छ ।
१ सय ६ घर सन्थाल र २६ घर उराव समुदायका लागि गरी उक्त बस्तीमा १ सय ३२ घर बनाउने योजना समेटिएको छ । बस्ती शिलान्यासका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी लक्ष्मी भण्डारी उर्लाबारी नगर उपप्रमुख थिइन् । मोरङ पूर्वराष्ट्रपति भण्डारीको गृहजिल्ला पनि हो ।
चार दशकदेखि जोतभोग गर्दै आएको जग्गामा स्थानीयसँग छलफल नगरी जबर्जस्ती शिलन्यास गरिएकाले काम अघि बढाउन समस्या भएको उनको भनाइ छ । खरेलले भने, ‘शिलान्यासकै बेला नापजाँच गरेर स्थानीयसँग कुरा मिलाउनुपर्ने थियो तर त्यो बेला विवादकै बीच प्रहरी प्रशासनको बलमा शिलान्यास गरियो । त्यसपछि काम अघि बढ्न सकेको छैन ।’ ऐलानी जग्गा भए पनि वर्षौंदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने भन्दै शिलान्यासकै बेला स्थानीयले विरोध गरेका थिए । जग्गाको विषयलाई लिएर कुरा नमिल्दा बस्ती निर्माणका लागि ठेक्का लाग्नेबाहेक कुनै पनि काम हुन नसकेको नगरप्रमुख खरेलले बताए ।
जग्गा नापजाँचका लागि शनिबार नगर प्रहरीसहित पुगे पनि स्थानीयको अवरोधले काम गर्न नपाएको उनले बताए । खरेलले वडाअध्यक्षसँगको छलफलपछि निर्माणस्थलको वास्तविकता बुझ्न गए । स्थानीयको अवरोधले झडप हुने अवस्था आउने देखेर फर्किएको बताए । १८ करोडको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त बस्तीमा अहिले जग्गा चर्चेर सन्थाल समुदायबाहेकका व्यक्तिको बसोबास छ । जोतभोग गर्दै आएका आफूहरूले घर नपाउने भएपछि अवरोध गरेको स्थानीय नन्दलाल धामीले बताए ।





प्रतिक्रिया दिनुहोस