देशमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो “अध्यक्ष नेपाल”
326 Views
काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए ।
अध्यक्ष नेपालले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा बिनापैसाको कुनै काम नहुने अवस्था आएको बताए । उनले जनतालाई पीडा दिने र शोषक सामन्तहरू र दलाल पुँजीवादीहरू हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ । बिनापैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोषक सामन्त, जाली फटाहाहरू अझै दलाल पुँजीहरू हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसको परिवर्तन गर्न चाहन्छौँ । असल बन्नसके, भ्रष्टाचारका विरुद्ध उभिनसके बल्ल सत्य ठहरिन्छ, अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ,’ उनले भने, ‘भुटानी शरणार्थी प्रकरण होस् या कुनै पनि कामहरू बिनापैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरू होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सल्बलाएको बताए । ‘वंशको शासन’लाई फर्काउने दुष्प्रयास भइरहेकोसमेत अध्यक्ष नेपालको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस