महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध दुर्व्यवहार उजुरी
601 Views
काठमाडौँ,एक पत्रकार महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको भन्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । पीडितले जेठ १८ गते उजुरी दर्ता गरेकी हुन् ।
उजुरीमा लेखिएको छ, “बालकृष्ण बस्नेत नामक फेसबुक आईडीले जेठ १५ गते मध्यरातको समयमा म्यासेन्जरमार्फत भेट गर्न प्रस्तावसमेत राख्ने अडियो कल गर्ने साथै पटक–पटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकोले सो व्यक्ति पत्ता लगाई आवश्यक कारबाही गरी पाऊँ ।” उजुरीको दर्ता नम्बर ७१२६ रहेको छ ।
अध्यक्ष बस्नेतले दिएको तनावबारे पीडितले जेठ १६ गते फेसबुकमा सार्वजानिक गरेकी थिइन् । ‘प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतज्यू, हिजो खाएको सोमरसको ह्याङओभर सकियो कि अझै खाएर आज पनि मध्यराति म्यासेज र म्यासेन्जर कल गर्ने विचारमा हुनुहुन्छ ? हिजो एक्कासि तपाईंको फेसबुक आईडीबाट म्यासेज अनि कल आउँदा सुरुमा आईडी ह्याक भयो कि ? भन्ने सोचेको थिएँ तर, अडियोमा तीन मिनेट कुरा भएपछि प्रस्ट भयो तपाईंको फेसबुक आईडी अरु कसैले चलाएको छैन । किनकि कलमा तपाईं आफैं बोल्दै हुनुहुन्थ्यो । त्यसैले अब आईडी ह्याक भएको नाटक मञ्चन चाहिँ नगर्नु होला’ उनले फेसबुकमा उल्लेख गरेकी छन् ।
फेसबुक वालमा सेयर गरेपछि र साइबर ब्युरोमा उजुरी दिएपश्चात प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले आफ्नो घरपरिवार, आफन्त, आफू कार्यरत सञ्चार संस्थाका प्रमुखलगायतसँग फोन गरेर उजुरी फिर्ता लिन दबाब दिने गरिरहेकाले सुरक्षा र हदैसम्मको कारबाहीको माग गर्दै पीडितले जेठ २१ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई समेत उजुरी दिएकी छन् ।
‘निज बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको प्रेस काउन्सिल नेपालका अध्यक्ष हुन्, जिम्मेवार निकायका प्रमुखबाट भएको अनावश्यक रूपमा असम्बन्धित व्यक्तिलाई मध्यरातमा फोन तथा म्यासेज गरी भेट्ने प्रस्ताव गर्ने व्यवहारबाट मैले आफूमाथि हिंसा भएको महसुस गरेकी छु,’ पिडितले मन्त्रीलाई बुझाएको दर्ता नं. २७८ को उजुरीमा उल्लेख छ ।
यता प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले आफ्नो फेसबुकमा समस्या आई तीन दिनसम्म आफ्नो नियन्त्रण बाहिर रहँदा यस्तो हुन पुगेको बताए । ‘कतिपयलाई कल गएको, पैसा मागिएको थाहा पाएपछि बल्लबल्ल आफ्नो नियन्त्रणमा लिएर फेसबुक ह्याक भएको पनि जानकारी वालमा राखेँ, असर पुगेको फेसबुक आईडीमा नाम पहिचान नभएपछि शंकास्पद लागेर को हो भनेर पत्ता लगाउन लगाएँ,’ बस्नेतले भने, ‘सम्बन्धित व्यक्तिलाई हामी दुवैलाई परेको समस्या रहेछ, भेटौं, बसौं, छलफल गरौँ भनेर कोसिस गरे भएन, अर्कोतिर फोन पनि उठाउनु भएन, अहिले पूरै छानबिन भइरहेको छ, साइबर ब्युरोमा उजुरी परेको छ भनेर थाहा पाएको छु, मलाई औपचारिक जानकारी आएको छैन ।’





प्रतिक्रिया दिनुहोस