गण्डकी प्रदेशमा स्वास्थ्यलाई प्राथमिकता
353 Views
गण्डकी सरकारले चालु खर्च कटौती र पुँजीगत खर्च बढाउन पहल गर्ने अठोट लिएको छ । सरकारको नीति तथा कार्यक्रममा लिफ्टिङ प्रणालीको खानेपानी आयोजना र कृषि उत्पादनका साथै उत्पादकत्व वृद्धि गर्न लिफ्टिङ सिँचाइमा लाग्ने विद्युत् महसुलमा समेत अनुदान उपलब्ध गराउने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । सकारको नीति तथा कार्यक्रममा स्थानीय तहसँग समन्वय गरेर प्रदेशभित्रका सवै स्वास्थ्य चौकीमा निःशुल्क सेनेटरी प्याड व्यवस्था गरिने उल्लेख छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सार्वजनिक खर्चलाई मितव्ययी बनाउने संकल्प राखिएको छ ।
मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलसिस सेवा दिने घोषणा छ । क्यान्सरका बिरामीलाई प्रदेश सरकारले १ लाख थप गरेर दुई लाख रुपैयाँ दिने नीति छ । आवश्यक अस्पताल स्तरोन्नति गर्ने, ज्येष्ठ नागरिकलाई प्रदेशमातहतका अस्पतालमा ओपीडी र प्रयोगशाला परीक्षण निःशुल्क गर्ने, गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुलाई आपत्कालीन स्वास्थ्य अवस्थामा उद्धारका लागि ‘एयर एम्बुलेन्स’ व्यवस्था पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले यसअघिदेखि नै विद्यालयमा किशोरीका लागि सेनेटरी प्याडको व्यवस्था गर्दै आएको छ । सेनेटरी प्याडमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने र महिनावारीसम्बन्धी विभेद अन्त्यका लागि सरोकारवालासँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम उल्लेख रहेको छ।





प्रतिक्रिया दिनुहोस