आलु महोत्सवमा १४ लाखको कारोबार
314 Views
कास्की, १ वैशाख । ११ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा हालसम्म १४ लाख बराबर आलुको कारोबार भएको छ । महोत्सवको पाँचौ दिन बिहीबारसम्म ४० टन आलु बिक्री हुँदा १४ लाख बराबरको कारोबार भएको भएको आयोजक विष्णुपादुका क्लबले जनाएको छ । ३ वैशाखसम्म चल्ने महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलु किन्न पाइन्छ ।
आलु किन्नकै लागि कास्कीसहित छिमेकी जिल्लाबाट पनि मानिस महोत्सवस्थल आउने गरेका छन् ।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजामा फलेको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो पाक्ने हुनाले हेमजामा उत्पादित आलु ग्राहकको रोजाइमा पर्ने गरेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए ।
बिहीबारमात्रै १० टन बढी आलुको कारोबार भयो । जसअनुसार ३ सय ५० जनाले आलु किने । हालसम्म एक जनाले न्युनतम १० केजीदेखि अधिकतम ५ क्लिन्टलसम्म आलु किनेको संयोजक तिमिल्सिनाले बताए ।
बिहीबार लोकदोहोरीतर्फ राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहनी, विनोद रामदाम र राजेन्द्र पोखरेल, पप कन्सर्टतर्फ लाहुरे, काल रात्री, गगन गुरुङ तथा रक्षा व्याण्ड साथै हास्यतर्फ राजेन्द्र गिरी, मीना गिरी, मनोज गोर्खाली लगायतले प्रस्तुति राखे ।
नयाँ वर्षको दिन शुक्रबार लोकदोहोरीतर्फ बद्री पगेनी, माया गुरुङ, कमला सुनार, सुभद्रा श्रेष्ठ र सन्तोष सुवेदी, पपतर्फ अस्मिता अधिकारी, सुनिल गायक, गगन गुरुङ र यम नेपालीका प्रस्तुतिहरु रहने छन् । महोत्सवमा रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा. कालिकाप्रसाद उपाध्यायले आलुलाई बान्डिङ गर्न सफल भएकोमा हेमजावासीलाई बधाई दिंदै आलुको उत्पादन तथा उत्पादकत्व बढाउन पहल गर्नुपर्ने बताए । जात्रा, मेलाको परिष्कृत रुप नै महोत्सव भएको औैंल्याउँदै निर्देशक डा. उपाध्यायले महोत्सवसँगै कला संस्कृतिको पनि संरक्षण भइरहेको उल्लेख गरे ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।





प्रतिक्रिया दिनुहोस