आलुबाट विदेशी मुद्रा आर्जन गर्ने
1291 Views
कास्की, २८ चैत । पोखरा महानगरपालिका–२५ स्थित हेमजामा आलु महोत्सव यसपटक पनि आयोजना गरिएको छ । आइतबार सुरु गरिएको महोत्सव वैशाख ३ गतेसम्म चल्ने छ ।
विगत ३ वर्ष कोभिड–१९ का कारण स्थगित भएकोे थियो । महोत्सवको सुरुमा स्थानीय मिलन चोकबाट झाँकीसहितको शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा कृषकहरू आलुको माला माला लगाएर तथा अन्य कृषि उत्पादन शरीरभरि झुड्याएर नाच्दै गाउँदै महोत्सव स्थल विष्णु पादुका खेल मैदान गएका थिए ।
खेलमैदानमा आलु महोत्सव भव्य तयारी गरिएको थियो । महोत्सवमा कृषिका उत्पादनहरू प्रदर्शनमा राखिएको छ भने आलुको ठूलो पहाड निर्माण गरिएको छ । प्रदर्शनीमा आलुको पहाड बनाएर राख्नु हेमजाको विशेषता भएको छ ।
हेमजाले आलु उत्पादनको क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएको छ । हेमजाको आलुले ग्राहकहरूलाई त्यसै आकर्षित गर्ने गरेको छ । महोत्सवको आयोजना गर्ने गरिएबाट टाढाका किसानहरूलाई समेत यसले तान्ने गरिएको छ ।
महोत्सवले एकातिर हेमजाको आलुकोे सजिलै प्रचार हुने गरेको छ भने अर्कोतिर ग्राहकहरू महोत्सव स्थलमा नै आएर किन्ने गरेका छन् । यस पटक महोत्सव स्थलमा प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ । आयोजकहरूले ४० टन आलु बिक्री वितरण गर्ने अपेक्षा राखेको छ । प्रदर्शनीमा आलुका परिकार बनाएर खुवाउने पनि व्यवस्था छ । आलु नेपालीहरूको महत्वपूर्ण तरकारी हो । यो तरकारी सबैलाई मनपर्ने र सबैजसो तरकारीमा मिसाएर उपयोग गर्न सकिने हुन्छ । त्यसैले यसको प्रयोग नेपाली भान्छामा बढी हुने गर्दछ ।
महोत्सवमा तत्सम्बन्धी प्रशिक्षणको आयोजना पनि हुने भएको छ । प्रशिक्षणमा किसानले सामना गर्नु परेका बिउबिजनको समस्याबारे विचार–विमर्श हुने नै छ । यसमा विषय विज्ञहरू र सरकारमा बस्नेहरूले यसको प्रशंसा गर्ने अपेक्षा गरिएको छ । तर त्यो प्रशंसा नै पर्याप्त छैन । यसको उत्पादन अन्यत्र पनि फैलाउनु आवश्यक छ ।
हेमजाले दशक अघिदेखि आलु महोत्सव मनाएर आफ्नो पहिचान कायम गरेको छ । तर यसको सिको अरुले त्यत्ति गरेको देखिएको छैन । त्यसको साथै एउटा अर्को के सोच्नु आवश्यक छ भने यस किसिमले आलु उत्पादन गरेपछि यसलाई विदेशमा पठाउने प्रयास गर्नुपर्दछ र यसबाट पनि विदेशी मुद्रा कमाउने उपाय गर्नुपर्दछ । यस दिशातिर हामी आयोजकहरू एवं अन्य कृषकहरूको ध्यान आकर्षित गर्न चाहन्छौं ।
प्रतिक्रिया दिनुहोस