नयाँ वर्ष २०८० अवसरमा “फस्ट खपौदी कार्निभल” हुँदै
521 Views
पोखरा २६ चैत । नयाँ वर्ष २०८० अवसरमा “फस्ट खपौदी कार्निभल” हुने भएको छ । होटल संघ पोखरा नेपालले लेकसाइडमा फेवा नववर्ष महोत्सव तयारी गरिरहँदा खपौदी कार्निभल नाममा अर्को मेला हुन लागेको हो ।
फेवा पर्यटन विकास समितिले आगामी चैत ३० र वैशाख १ मा नर्थ लेकसाइड ल्यान्डिङ जोनमा खपौदी कार्निभल गर्न लागेको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा समिति अध्यक्ष अर्जुन सुवेदीले नेपाली नयाँ वर्ष अवसरमा नयाँ कार्यक्रमस्वरुप खपौदी कार्निभल आयोजना गर्न लागेको जानकारी दिएका छन् ।
पहिलो दिन साँझ ५ बजे अनौपचारिक रुपमा सुरु गरिने मेलालाई नयाँ वर्षको दिन औपचारिक कार्यक्रमसहित विविध कार्यक्रम गरिने उनले बताए । गैह्राचौतारादेखि विभिन्न संघसंस्थाको व्यानरमा नौमती बाजासहितको झाँकी कार्यक्रमस्थलसम्म पुग्नेछ । दिउँसो १२ बजे उद्घाटन हुनेछ । ३ देखि ५ बजेसम्म लाइभ ब्यान्ड र ५ देखि ख्यातिप्राप्त डिजेको प्रस्तुतिमा दर्शकले भरपूर मनोरन्जन लिन सक्ने छन् ।
गैह्राचौतारादेखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।
२ दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले बताए । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शनसहित डुंगा दौड लगायत खेलकुदका कार्यक्रम पनि प्राथमिकता दिइएको छ ।विगतमा ड्यामसाइडमा केन्द्रित पर्यटकीय गतिविधि समयक्रमसँगै वाराहीचोकतिर सरेको पाइन्छ । अहिले भने पर्यटक बढीजसो खपौदी पामेतिर सरेका छन् । २५ वर्षअघिसम्म त्यहाँ पर्यटकीय गतिविधि सुनसान भए पछि बिस्तारै चहलपहल बढेको हो । त्यस क्षेत्रमा होटल, रेस्टुरेन्ट लगायत पर्यटकीय संघसंस्था गरी १ सय बढी संचालित छन् । फेवा पर्यटन विकास समितिमा भने ९७ पर्यटन व्यवसायी आबद्ध रहेको कोषाध्यक्ष गोपीलाल तिमिल्सिनाले बताए ।
कोरोनाको बेला थला परेको पर्यटन क्षेत्र चलायमान बनाउन समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको समितिका संस्थापक अध्यक्ष रामकुमारी राईले बताए ।मेला आयोजना गर्न २५ लाख खर्च लाग्ने र २० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रवेश निशुल्क रहेको छ ।
होटल संघले चैत २९ देखि वैशाख फिस्टेल गेटदेखि हल्लनचोकसम्म १८ औं फेवा नव वर्ष महोत्सव गर्दैछ । संघले भने आफूहरुलाई कहिल्यै पनि समन्वय नगरेको फेवा पर्यटन विकास समितिका पदाधिकारीको गुनासो छ । खपौदी कार्निभलले भने समग्र पोखराको पर्यटनलाई टेवा दिने भएकोले यो महोत्सव सबैले अपनत्व लिनुपर्ने समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस