पैसाका सर्वसाधारणलाई प्रहरीले पासो थाप्छ
378 Views
कास्की, २३ चैत । पोखरा वडा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले जरिवाना रकमबाट हुने सीमित आम्दानीको लोभमा ट्राफिक प्रहरीले छेक्कर काटेर मोटरसाइकल तथा स्कुटर चालकलाई दुख दिएको गुनासो गरेका छन् ।
पोखरा पर्यटन परिषद् र यसअन्तर्गतका संस्थाका पदाधिकारी तथा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीसँग छलफल गर्दै उनले चोकचोकमा बसी हरेक साँझ र दिनमा ४ सय रुपैयाँ लोभमा ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटर चालकलाई २ हजारसम्म जरिवाना गर्ने गरेको बताए । “साँझ सातै बजे सीमित आम्दानीको लोभमा ट्राफिक प्रहरीले पासो थाप्नु दुर्भाग्य हो,’ उनले भने, ‘चेकिङ नै गर्ने हो भने राति २ बजे क्लब र डिस्कोबाट निस्कनेलाई चेकजाँच गर्न सक्नुपर्छ ।” प्रहरीको कुरा नागरिकले सुन्नेभन्दा पनि नागरिकको कुरा प्रहरीले सुन्ने कुरा प्राथमिकतामा पर्नुपर्ने उनको मत छ ।
अरु सामान्य किराना र पर्यटकीय सामग्री बेच्ने पसल तथा रेष्टुराँलाई साँझ पर्नासाथ बन्द गर भन्ने प्रहरीले कतिपयका लागि भने रातभरि खोल्न दिएर भेदभवपूर्ण व्यवहार गरेको आरोप पनि उनको छ । लेकसाइडलाई आचारसंहितामा रहेर रातभरि खोल्न दिने भन्ने विषय अगाडि बढ्दै गर्दा प्रहरीले अनावश्यक कडाइ गर्दा व्यवसायी मारमा परेको उनले बताए । यसबारे कास्की प्रहरी प्रमुखसँग पनि कुरा गरेको उनले सुनाए ।
गएको २० माघमा परिषद्ले आयोजना गरेको कार्यक्रममा सो संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर भुजेलले लेकसाइड क्षेत्रलाई मात्रै लक्षित गरी बढी चेकिङ र मापसे जाँच गर्ने गरिएको गुनासो गरेपछि मुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रमस्थलबाटै कास्कीका प्रहरी प्रमुखलाई यस्तो नगर्न फोन गरेका थिए । लेकसाइड राति अबेरसम्म खोल्न पाउनुपर्ने तर आवश्यक सुरक्षा मिलाउने काम प्रहरी प्रशासनको भएको भन्दै यस विषयमा मिटिङ राखिने सो समयमा उनले बताएका थिए ।
मुख्यमन्त्री खगराज अधिकारीले यसअघि कास्कीका प्रहरी प्रमुखलाई कार्यक्रमस्थलबाटै फोन पनि गरेका थिए
वडाध्यक्ष भट्टराईले पर्यटन प्रवद्र्धन र विकासका लागि पहल गर्न खोज्दा राज्यले नीतिमार्फत अल्मल्याउने, दुख दिने र झुक्याउने सोच लिएको आरोप पनि लगाए । अहिले होटलहरु दर्ता र नवीकरण गर्न राज्यले पूरा गर्न नसकिने अनेक मापदण्ड अघि सारेको बताउँदै उनले अब वडाकै सिफारिस आधारमा होटल संघ पोखरा नेपालमा होटलहरु दर्ता र नवीकरण गर्न सो संस्थालाई आग्रह गरे ।
विभिन्न मापदण्डका कारण दर्ता भएका भन्दा दर्ता नभएका होटलको संख्या धेरै भएको बताउँदै उनले पूरा गर्न नसकिने मापदण्डका कारण ६० प्रतिशत होटलहरु बिनादर्ता संचालन भएको अनुमान उनले सुनाए । यसका कारण मूल्य र सेवामा एकरुपता कायम गर्न सम्बन्धित संस्थालाई गाह्रो पर्ने विचार राखे ।
लेकसाइड क्षेत्रको सुधारको लागि मुख्य सडक र भित्री सडकमा उज्यालो बनाउने अभियान अगाडि बढेको, वडा प्रहरी कार्यालय बैदान र बुलौंदीमा प्रवेशद्वारा बनाउन पहल अगाडि बढेको र वाराही घाट तथा फिस्टेल होटल जाने घुम्तीमा तालमा फोहोर पानी नपुग्ने गरी स्मार्ट शौचालय कार्य अगाडि बढ्ने विषय पनि उनले अवगत गराए ।
पार्किङ समस्या समाधानका लागि क्याम्पिङ चोक, पार्किङ र खेलकुदका लागि वाराही घाटसँगैको मैदान र डिहिको पाटनस्थित खाली ठाउँको सदुपयोग गर्न आफूलाई सबैको सहयोगको खाँचो भएको उनले बताए । वन र विज्ञको सहयोग लिएर लेकसाइड क्षेत्रमा दुर्घटना निम्त्याउन सक्ने रुखहरुको अभिलेख तयार गरी तिनलाई छिमल्ने र आवश्यक परे हटाउने अभियान पनि अगाडि बढाउने वडाध्यक्ष भट्टराईले बताए ।





प्रतिक्रिया दिनुहोस