सैंती र मर्दी खोलाको लेदो पानी बेचेर संस्थान मालामाल
417 Views
कास्की, २२ चैत । विश्व बैंकको सहयोगमा २०४४ सालमा मर्दीबाट पानी ल्याएर पोखरेलीलाई वितरण गर्न थालिएको छ । हाल पोखरा महागनरका १९ वडाका करिब सवा ४ लाख उपभोक्ताले मर्दीकै पानी उपभोग गर्दै आएका छन् ।
खानेपानी संस्थानले पानी वितरण गर्दै सेवाग्राहीसँग शुल्क उठाउँछन् । ३५ वर्ष लेदो पानी बेचेको संस्थानले अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सहयोगमा पानी शुद्धीकरण परियोजना सुरु गरेको छ । खोलाको पानी सीधै पिउन मिल्ने गरी धारामा खसाल्ने गरी शुद्धीकरण आयोजना निर्माण भइरहेको संस्थानले जनाएको छ । १ सय किलोमिटर क्षेत्रमा शुद्ध पानी वितरणका लागि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।
सन् २०२१ अगस्तमा सक्ने लक्ष्य लिइएको आयोजनाको काम अझै पूरा भएको छैन । आयोजना ३ अर्ब ८५ करोड रुपैयाँमा सक्ने गरी हाज्मा एन्ड कर्पोरेसन, जापानले ठेक्का लिएको हो । पोखरामा दैनिक ७ करोड लिटर पानीको माग छ । अहिले ५ करोड लिटर मात्रै वितरण भइरहेको छ । पोखराकै आम्दानीले देशभरका खानेपानी संस्थान चलेका छन् । तर प्रभाव क्षेत्र (मुहान भएको पालिका) मा पानी वितरणबाट प्राप्त आम्दानीको लाभ पुग्न सकेको छैन । हरेकजसो सभा सम्मेलनमा स्थानीयले नदी कटानले आफ्नो खेतबारी नास भएको गुनासो गर्छन् । तटबन्धका कार्यक्रम न पालिकाले गर्छ, न संस्थानले । बर्खा लागेपछि खेतबारीबाट झरेको लेदो सीधै पोखरेलीका धारामा पुग्छ ।
त्यतिमात्रै होइन, संस्थानले उठाएको रकममध्ये केही हिस्सा उनीहरुले प्रभाव क्षेत्रमा खर्च गर्नुपर्ने आवाज उठाएको लामो समय बितिसक्यो । ‘खानेपानी दिन्नँ भनेको होइन तर मुहानको संरक्षण गर्ने उपभोक्ताले नै हो नि,’ वडा ८ का अध्यक्ष रामबहादुर गुरुङ भन्छन्, ‘प्राकृतिक स्रोतको उपभोग गरेवापत स्थानीयले केही अंश लाभ पाउनुपर्छ । संस्थानलाई धेरै पटक भन्यौं सुन्दै सुनेन ।’ लामो समय एकलौटी रुपमा संस्थानले उठाउँदै आएको शुल्कको केही प्रतिशत रकम आफूले पनि पाउनुपर्ने मागसहित माछापुच्छ्रे गाउँपालिकाले बल्ल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेखेको छ । माछापुच्छ्रे गाउँपालिका भएर बग्ने मर्दीखोलाको पानी खानेपानी संस्था पोखराले उपयोग गरिरहेको र उपयोग गरेको पानीको रोयल्टी माग गरिएको पालिकाले जनाएको छ ।
माछापुच्छ्रे गाउँपालिकाले खानेपानीको रोयल्टी माग गर्दै वित्त आयोगलाई पत्र पठाएको छ
मर्दीबाट संस्थानले दैनिक ४ करोड ५० लाख लिटर पानी ल्याएर बेचेको छ । सोही पानी बेचेर दैनिक ११ लाख २५ हजार र वार्षिक ४१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । संस्थानले प्रतियुनिट पानी २५ रुपैयाँमा बेचेको हो । ‘मर्दीको पानीबाट संस्थानले दैनिक गरेको उक्त आम्दानीको निश्चित प्रतिशतको हिस्सेदाररुपमा माछापुच्छ्रे पनि हुनुपर्ने हो,’ अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘तर अहिलेसम्म संस्थानले एकलौटी रुपमा प्रयोग गर्दै आएको छ ।’
माछापुच्छ्रेको लुम्रे, ठाँटी, नयाँपुल, खोरामुख, भेडाबारी, समीबगरको खेतीयोग्य जमिनलाई कटान गरी हजारौं रोपनी जग्गा बगरमा परिणत गरेको र मानवबस्ती समेत जोखिममा परेको भन्दै विपद व्यवस्थापनका लागि सहयोग गर्न पालिकाले आग्रह गरेको छ । ‘उक्त महसुलबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन कार्यक्रम ल्याउनु अति आवश्यक छ । विश्वव्यापी रुपमा चल्दै आएको ‘पेमेन्ट फर इकोसिस्टम सर्भिसेज’ प्रावधान बमोजिम केही प्रतिशत रकम रोयल्टीका रुपमा माछापुच्छ्रे गाउँपालिकामा प्राप्त भएमा विपद् कोष खडा गरिने अवगत गराइन्छ,’ पत्रमा भनिएको छ ।
पोखरा महागरको मुख्य खानेपानीको स्रोत रहेको मर्दीखोलामा आवश्यक वातावरणीय संरक्षण गर्न पोखरा महानगर, खानेपानी संस्थान साथै सबैसँग समन्वय गरिने पालिका उपाध्यक्ष सीता अधिकारीले बताइन् । माछापुच्छ्रेका स्थानीयले हरेक वर्ष खानेपानी आयोजनाका कारण आफूहरु समस्यामा परेको गुनासो गर्दै आएका थिए । ‘हाम्रो पानीले पोखरा पालेको छ । हामी आफ्नै पानी प्रयोग गर्न पाउँदैनौं,’ उपाध्यक्ष अधिकारी भन्छिन्, ‘आफ्नो स्रोतको हिस्सा खोज्ने अधिकार हामीसँग छ । हामीले हाम्रो अधिकार प्रयोग गरेका हौं ।’





प्रतिक्रिया दिनुहोस