११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा
603 Views
कास्की, २१ चैत । हेमजामा चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले सोमवार पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी करिब ७० प्रतिशत पूरा भएको जनाएको हो ।
क्लब अध्यक्ष सुबिन श्रेष्ठले हाल स्टल तथा बाल उद्यान व्यवस्थापन, आलु संकलन गरी गे्रडिङ गर्ने लगायत कार्य घमाधम भइरहेको बताए । महासचिव वसन्तकुमार श्रेष्ठले महोत्सव हेमजाको ब्रान्डिङ भएको उल्लेख गर्दै यसले समग्र कास्कीलाई नै चिनाएको स्पष्ट पारे ।
महोत्सवअन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारहरु प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कारलगायत कार्यक्रम गरिने छ ।
कोरोना महामारीका कारण ३ वर्षसम्म हुन नसकेको महोत्सव यस वर्षदेखि निरन्तरता दिन लागिएको क्लबले जनाएको छ ।महोत्सवबाट मनोरञ्जनका साथै हेमजामा उत्पादन भएको आलु तथा अन्य ताजा तरकारीको प्रचारप्रसार हुने, हेमजालाई व्यावसायिक कृषि पर्यटकीय क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरणा मिल्ने, क्लब भवन, तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्नेलगायत उद्देश्य राखिएको छ ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवसँगै हेमजाको आलुको प्रवद्र्धन हुने विश्वास व्यक्त गर्दै हेमजामा बढी मात्रामा लगाउने गरिएको एमएस ४२ जातको नीलो आलु हाल सूचीकरण भइसकेको जानकारी दिए । उनले समग्रमा कृषि पेसाप्रति विकर्षण बढ्दै जानु दुखद् भन्दै महोत्सवकै अवसरमा कृषक परिचयपत्र वितरण गर्न लागेको जानकारी दिए ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले गुणस्तरीय मल, बिउ, हावापानीलगायत कारणले उत्पादन घट्ने गरेको बताए । उनले हेमजालाई विशेष बिउ उत्पादन पकेट क्षेत्र निर्माण गर्न सरोकारवाला सबै लाग्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले महोत्सव समग्रमा कास्कीवासीको चाड भएको उल्लेख गर्दै हेमजावासीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताइन् ।अग्रज कृषक चित्रनाथ पौडेलले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिँदै महोत्सवमा किसान सहभागिता बढाउनुपर्ने बताए ।
महोत्सवअन्तर्गत ३० देखि ४० टन आलुको पहाड निर्माण गरिँदै छ । महोत्सव प्रवेशका लागि साधारण प्रवेशका लागि ८० र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट लाग्नेछ ।





प्रतिक्रिया दिनुहोस