कास्की जिल्लामा नगरबसको गति निर्धारण गरिने
385 Views
पोखरा । पोखरा चिप्लेढुंगामा चैत ३ गते नगर बसले स्कुटरलाई ठक्कर दियो । ग१ख ७१०८ नम्बरको नगर बसले ठक्कर दिँदा ग९प ९९८९ नम्बरको स्कुटरमा सवार झापा दमककी दीक्षा कार्कीको मृत्यु भयो । त्यसको २ हप्तापछि सोही रुटमा अर्को दुर्घटना भयो । मिनी माइक्रो बसको ठक्करबाट स्कुटर चालक ४५ वर्षीय सूर्य थकालीको मृत्यु भयो ।
ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकका अनुसार ९० देखि ९५ प्रतिशतसम्म सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेका छन् । ‘तीव्र गति, मापसे जस्ता कारणबाट बढी दुर्घटना हुने गरेका छन्, सहरी क्षेत्रमा हुने दुर्घटनामा साना सवारी साधनको बढी दोष देखिन्छ,’ उनले भने ।
चालु आवमा भएका ७९ दुर्घटनामध्ये ४४ तीव्र गतिका कारण भएको जानकारी दिए । स्तरहीन सडक, यान्त्रिक गडबडी, जथाभावी पार्किङ आदि कारणले पनि दुर्घटना हुने गरेको उनले सुनाए । ‘पोखरामा व्यवस्थित पार्किङ नहुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ’ उनले भने, ‘ठाउँठाउँमा भइरहेको सडक, नाली निर्माणले पनि दुर्घटनाको जोखिम बढाइरहेको छ ।’ ट्राफिक कार्यालयले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कास्कीमा ९ महिनामा ७९ वटा सवारी दुर्घटना, २९ जनाले ज्यान गुमाउँदा ८९ घाइते
यसमा नागरिक समाजको पनि ध्यानाकर्षण भएको छ । नागरिक समाजले बढ्दो दुर्घटना कम गर्न सोमबार प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी नगरबसको गति निर्धारण गर्ने सहमति गरेको छ । नागरिक समाज कास्कीका अभियन्ता रामबहादुर पौडेलले दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासनसँग केही सहमति भएको बताए । ‘माइक्रो बसबाट गम्भीर दुर्घटना भएका छन् । ती दुर्घटना कम गर्न सिडिओ सा’पलाई खबर गरेका थियौं,’ उनले भने, ‘उहाँले सुरक्षा बैठकबाट केही निर्णय गर्नुभएछ । आज नागरिकस्तरबाट हामीले माग गरेका हुनाले बैठक केही निर्णय गरेको छ । त्यसको हामीले स्वागत गर्छौं ।’
सोमबारको बैठकले सहरी क्षेत्रभित्र सञ्चालन हुने नगर माइक्रोका लागि अधिकतम गति निर्धारण गरी कडाइका साथ लागु गर्ने, नगरबस सञ्चालन हुने रुटमा मापदण्डबमोजिम सिटी बस स्ट्यान्डको व्यवस्था गरी यात्रु उकाल्ने र ओराल्ने व्यवस्था कडाइका साथ पालना गर्ने/गराउने निर्णय भएको अभियन्ता पौडेलले बताए । सहरी क्षेत्रमा गति नियन्त्रण र ओभरटेक गर्न नपाउने व्यवस्था कडाइका साथ पालना गर्ने निर्णय भएको छ ।
निर्णय पालनाका लागि महानगरभित्र सञ्चालित नगरबसका चालक सहचालकलाई सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय भएको उनले बताए । यसबाट बढ्दो दुर्घटना न्यूनीकरण हुने उनको विश्वास थियो । कार्यान्वयन नगरी निर्णयमात्र गरेर केही नहुने भन्दै नागरिक समाजले कार्यान्वयनका लागि झक्झकाउने पौडेलले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालु आवको हालसम्म कास्कीमा ७९ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी २९ जनाले ज्यान गुमाए भने ८९ जना गम्भीर घाइते भए । आव सकिन अझै ३ महिना बढी बाँकी छ । गत वर्ष ९८ दुर्घटना हुँदा ५५ जनाको मृत्यु भएको थियो । आव २०७७/०७८ मा भएका ६४ सडक दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए ।





प्रतिक्रिया दिनुहोस