विद्यालयको ताला बन्द, एसईई परीक्षा सन्चालनमा कठिनाइ
409 Views
दाङ, १७ चैत । भवन निर्माणको रकम भुक्तानी नपाएको भन्दै सल्यानमा ठेकेदारले विद्यालयमा लगाएको ताला १४ दिन बित्दा पनि खोलेका छैनन् ।
त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार (निर्माण व्यवसाय)ले विद्यालयका २ भवनमा लगाएको ताला नखोल्दा आजदेखि सुरु भएको एसईई परीक्षा सञ्चालन गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ । ठेकेदार दामोदर वलीले चैत ३ गते विद्यालयको ८ कोठे र ४ कोठे गरी दुई भवनमा ताला लगाएका हुन् ।
विद्यालयका दुईवटा भवनमा ताला लाग्दा एसइई परिक्षाको सिट व्यवस्थानमा कठिनाइ भएको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णराज बुढाथोकीले बताए । “विद्यालयमा लागेको ताला नखुलेपछि एसईई परिक्षा गराउन कठिनाइ भएको छ” उनले भने! ‘मुख्य भवनमा ताला लागेकाले अहिले पुराना भवनमा राखेर जसोतसो परीक्षा सञ्चालन गरेका छौं ।’ उनले विद्यालयका पुराना चार वटा कक्षा कोठामा मुस्किलले सिट व्यवस्थापन गरेको बताए ।
आजदेखि सुरु हुने एसईईमा उक्त विद्यालयमा जिल्लाका पाँच विद्यालयको परीक्षा केन्द्र तोकिएको छ । राधेश्याम माबि गैरागिठी, माबि टोटके, नेरा माबि रेख फलाबाङ, सल्यानी पब्लिक स्कुल र त्रिवेणी माबि सरिकोटका गरी १५७ जना विद्यार्थी सो विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा सहभागी हुँदैछन् ।
एसईईको मुखमा तालाबन्दी हुँदा विद्यालयमा परीक्षा सञ्चालनका लागि प्रशासनिक कामकाज गर्न समेत समस्या भएको उनले बताए । ‘फोटोकपी मेशिन, कम्युटर भएका प्रशासनिक कक्षहरुमा ताला लागेको छ,’ उनले भने, ‘परीक्षाका सामान व्यस्थापन लगायतका काम गर्न समस्या भएको छ ।’
ठेकेदार दामोदर वलीले नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत दुई तलाको आठ कोठे र चार कोठे गरी दुईवटा विद्यालयको भवन निर्माण गरेका थिए । २०७७/७८बाट सुरु भएको भवन निर्माण गत असोजमामात्र सम्पन्न गरेका थिए ।
कूल दुई करोड ५० लाख मध्ये अन्तिम भुक्तानी वाफत ४५ लाख रुपैयाँ पाउँन बाँकी रहेको भन्दै ठेकेदार वलीले चैत ३ गते ताला लगाएका थिए । त्यसयता उनले ताला खोलेका छैनन् । विद्यालयले भने निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले भुक्तानी गर्न सकेको छैन ।
त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले विद्यालयको लागेका ताला खोल्न ठेकेदारलाई पटक–पटक आग्रह गरे पनि नमानेको बताए । ‘विद्यालय जस्तो संवेदनशील ठाउँमा ताला लगाउन हुन्न भनेर निर्माण व्यवसायीसँग आग्रह गरिरहेका छौं’ उनले भने, ‘तर उसले भुक्तानी नपाएसम्म ताला नखोल्ने अडान लिएकाले केही गर्न सकिएको छैन ।





प्रतिक्रिया दिनुहोस