प्रदेश १ को नाम अब “कोशी प्रदेश”
546 Views
प्रदेश १ को बुधबार बसेको प्रदेश सभाको बैठकले एउटा ऐतिहासिक निर्णय गरेर आफ्नो प्रदेशको नाम ‘कोशी’ राखेको छ ।
कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो भने मतदानमा ६ जना अनुपस्थिति थिए । प्रदेश सभाको यो निर्णयले ५ वर्षदेखि अनिर्णयको बन्दी रहेको विषयलाई एउटा टुंगोमा पुर्याएको छ । प्रदेश सरकारले यो निर्णयलाई एउटा ऐतिहासिक निर्णय मानेर प्रदेशमा सार्वजनिक बिदा दिएको थियो ।
अरु ६ प्रदेशहरुले समयमै आफ्नो नामकरण गरे तापनि यो प्रदेशले प्रदेशको नाम जुराउन सकेको थिएन । त्यसले प्रदेशका सभासदहरु र मन्त्रीहरुलाई समेत अप्ठ्यारो गरेको थियो । यस पटक कोशी प्रदेश पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपासहित प्रमुख दलहरु उभिएका थिए ।
कोशी प्रदेशअन्तर्गत १४ जिल्ला छन् । ती जिल्लाहरु एकपछि अर्को महत्वका छन् । यही प्रदेशमा विश्वप्रसिद्ध सगरमाथा हिमाल अवस्थित छ भने वराह क्षेत्रपनि यही प्रदेशमा छ । किराँत, राई, लिम्बुहरुको उद्गमस्थल पनि यही प्रदेशमा पर्दछ । यसको राजधानी विराटनगरमा विराट राजाको दरबार भएको अनुमान गरिएको छ ।
त्यस्तो महत्वपूर्ण ठाउँ भएकोले पहिचान आधारमा प्रदेशको नाम हुनु पर्दछ भनेर एक पक्षले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएको छ । कोशी पनि त्यहाँको महत्वपूर्ण नाम हो । पूर्वी नेपालमा सुनकोसी, इन्द्रावती, दूधकोसी, तामाकोसी, तमोर, अरुण र लिखु मिलेर सप्तकोसी बन्दछ । कोशी एक नदीमात्र होइन, यो भूगोल हो ।
कोशी धार्मिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण छ । कोशी सभ्यता पनि हो । यसको किनारमा प्राचीन बस्तीहरु छन् । ती बस्तीहरुमा अनेक धर्म र संस्कृतिको विकास भएका छन् । ती धर्म र संस्कृतिले अनेकतामा एकता नेपालको विशेषता भन्ने उक्तिलाई चरितार्थ गरेका छन् ।





प्रतिक्रिया दिनुहोस