साइकल तिर्थयात्रामा भिक्षु–आनि भिक्षुणी
484 Views
काठमाडौं,१३ फागुन। अधिकांश सर्वसाधरणले ‘भिक्षु–भिक्षुणीहरु बौद्धविहार वा गुम्बामा ध्यानमात्रै गरेर बस्छन् होला’ भन्ने धारणा बनाएका हुन्छन् । तर, काठमाडौंको कपनस्थित ड्रयुक अमिताभा माउन्टेन गुम्बा (सेतो गुम्बा)का भिक्षुणीहरु विश्व शान्तिको कामना गर्दै माथिल्लो मुस्ताङका लागि साइकलयात्रामा निस्किएका छन् । २ सय जना सहभागी यो यात्रामा १ सय ९५ आनि भिक्षुणीहरु छन् भने ५ जना भिक्षु ।
कोभिडका कारण रोकिएको साइकल यात्राको यो सातौं संस्करण हो । मंगलबार सेतो गुम्बाबाट सुरु भएको साइकल यात्रा शुक्रबार साँझ बास बस्न तनहुँ आँबुखैरेनी आईपुगका छन् । यात्राको संयोजन गरिरहेकी भिक्षुणी जिग्मे यीशेका अनुसार, उनीहरुसँग बास बस्न टेन्ट, खानेकुरा, औषधि, साइकल मर्मतका लागि आवश्यक पर्ने स्पेयर पार्टस, पूजा सामग्रीलगायत बन्दोबस्ती बोकेको ट्रक पनि साथसाथै यात्राभर हुनेछ ।
सेतो गुम्बाले पहिलोपटक ०५४ सालमा काठमाडौंबाट पोखरासम्मका लागि साइकल यात्रा गरेको थियो । त्यसयता उसले कोभिड अघिसम्म ६ पटक महिनौं लामो नेपाल र भारतमा साइकल यात्रा आयोजना गरिसकेको छ । ‘हाम्रा भिक्षुणीहरुले काठमाडौंबाट नेपालभित्रका पोखरा, हलेसी, लुम्बिनी अनि भारतको उडिसा, विहार, दार्जिलिङ र लदाकसम्म हजारौं माइल साइकलमै यात्रा गरिसकेका छन्,’ यात्रामा सहभागी आनि भिक्षुणी जिग्मे कोन्छाङले भनिन् ।
३४ वर्षअघि स्थापना भएको सेता गुम्बामा ९ वर्षदेखि ६० वर्ष उमेर पुगेका ५ सय हाराहारी भिक्षुणी छन् । साइकल यात्रामा भने उनीहरु १६ देखि ४५ वर्ष उमेर समूहका छन् । त्यहाँ रहेका अधिकांश तन्नेरी भिक्षुणी आत्मरक्षा र आत्म अनुशासनका लागि मार्सल आर्टअर्न्तगत हरेक दिन तीन घन्टा कुङफू सिक्छन् । भिक्षुणी जिग्मे यीशेले भिक्षु/भिक्षुणीलाई कुङफू सिकाउने यो नै पहिलो गुम्बा भएको बताउँदै आफ्ना खेलाडी साथीहरुले भूकम्पमा गाउँगाउँमा सहायता दिएको, महिलाहरुलाई आत्मरक्षाका लागि सिकाएको, महिला तथा बालबालिका बेचबिखनका लागि छैंठौं संस्करणसम्म १४ हजार माइल साइकल यात्रा गरिसकेको बताइन् ।





प्रतिक्रिया दिनुहोस