१५ वर्ष जान्छ भनेको गठबन्धन १५ दिनमै टुट्यो
361 Views
कास्की, १० पुस । काठमाडौंमा सत्ता समीकरणमा उलटफेर हुँदा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पोखरामा थिए । केही दिनदेखि चलिरहेको साहित्य महोत्सवमा सहभागी हुन उनीहरु पोखरा आईपुगेका थिए ।
६ फागुनमा भएको कांग्रेस संसदीय दलको नेतामा गगनले सभापति शेर बहादुर देउवासगँ प्रतिस्पर्धा गरेका थिए । गगनको समर्थक अर्का महामन्त्री शर्मा थिए । गगनलाई भारी मतान्तरले हराएर संसदीय दलको नेता चुनिएका देउवाले सरकार गठनका लागि गठबन्धनका दलहरुसँग सम्वाद थाले । तर, कुनै पनि छलफलमा महामन्त्रीद्वयलाई सहभागी गराइएको थियो ।
शनिबार एक सांसदमार्फत हस्ताक्षर गर्न भन्दै कांग्रेस सांसदहरुलाई बालुवाटारमा बोलाइएको थियो । पार्टीको आधिकारिक व्यक्तिमार्फत खबर नभएकाले महामन्त्रीद्वय गएनन् ।”यो ७ दिनमा केके भयो भन्ने पनि थाहा छैन” पोखरामा भेटिएका महामन्त्री थापाले भने ।
१०–१५ वर्ष जान्छ भनेको गठबन्धन किन १५ दिनमै टुट्यो ? भन्ने प्रश्नमा थापाले भने! “यहीकारण हामीले भनेका थियौं, चुनावपूर्व गठबन्धन नगरौं । परिणाम पनि त्यस्तै आयो । प्रचण्डले गरेको निर्णयबारे कुनै टिप्पणी गर्दिनँ, तर गठबन्धनबारे धेरैतिर छलफल गर्ने साथीहरुले पार्टीभित्र चाहिँ कति छलफल गर्नुभयो ?”थापाले अगाडि भने, “त्यसैले अब पनि चुनावपछि मात्र गठबन्धन गरौं, चुनावअघि गठबन्धन गरेर अनेक खालका बाचा जनतासँग नगरौं ।”





प्रतिक्रिया दिनुहोस