किसानहरुकाे मजबुरी रातभर नसुतेर सबै बिरामी
554 Views
धनुषा, २५ मंसिर ।धनुषाको बटेश्वर नगरपालिका १ का अरुण महतो रातिको खाना खाएर ओछ्यानमा ढल्किने बेलामा हतारिँदै खेततिर लम्किन्छ । दिनभरको श्रमले थाकेर घर फर्केका उनी सुत्न पाउदैनन् ।
उनले एउटा झोला र टर्च लाइट बोकेका थिए। झोलामा खाना थियो। यसरी उनी साँझ छिप्पिएपछि घरबाट करिब एक किलोमिटर परको खेतमा जानुको कारण के थियो भने खेतमा उनका बुबा महावीर थिए।
महावीर खेतमा बस्नुको कारण हो बालीमा नीलगाईको आतंक। राति भएपछि बाबुछोरा पालैपालो जाग्राम बसेर बालीमा आएको नीलगाई धपाउँछन्।
“हाम्रो दिनरात खेतमै बित्छ। जाडो मौसममा चिसो हावाले सर्दीखोकी लागेर बेमार परिन्छ।” अरुणले भने “नीलगाई पसेर बाली खाइदिन्छ, रातभरि बसेर धपाउनुपर्छ।”
अरुणका अनुसार रात परेपछि नीलगाईको बथान नै बालीमा पस्छ। दिउँसो पनि आउँछ। बाली जोगाउन किसानहरू दिनरात खेतमै रुँगालो बस्छन्।
“पसिना बगाएर लगाएको बाली निलगाई बथानले एकै छिनमा खाइदिन्छ।” अरुण भन्छन्,”आँखा झिमिक्क भयो सखाप पारिहाल्छ। जाडोमा रातभर खेतमा बस्ने मान्छेहरू बिरामी पर्छन्।” रोजगारीको क्रममा दुई पटक मलेसिया गएर फर्केका अरुणले खेतीबाटै परिवारको गुजारा चलाउने भनेर लागेका थिए। अहिले नीलगाईको आतंककै कारण खेती नै छोड्ने निष्कर्षमा पुगेका छन्।
“पेट पाल्नै पर्यो। छोराछोरी पढाउनु छ। बिहेबारी गर्नु छ। सधैँ विदेश बसेर पनि हुँदैन भनेर खेती गर्न थालेँ। उनले भने! “खेतमा गरेको लगानी उठाउनै मुश्किल पर्छ। नीलगाईले बर्बाद पारिदिन्छ। अरुणको परिवारले दुई कट्ठा जमिनमा काउली र खुर्सानी, बोडी रोपेका थिए। उनका अनुसार खनजोत, बिउ, मलखाद र बाँसको घेराबेरामा ३५ हजार रुपैँया खर्च भयो।”
भदौदेखि परिवारजनले तरकारी फलाउन मिहिनेत गरे। बिरुवा राम्रो सप्रेर फल दिन थालेको थियो। अचानक निलगाईको बथान पसेर सबै नष्ट गरिदियो। नजिकै खेतको अर्को टुक्रामा पनि बाली लगाएका छन्। त्यहाँ पनि नीलगाईले आतंक मच्चाउन थालेपछि बुबा दिनभर खेतमै बिताउँछन्।
खेतीबाट मात्र परिवार नचल्ने भएपछि अरुण दिउँसो मजदुरी गर्न जान्छन्। राति रुँगालो बस्न खेतमा जान्छन्। /एक पटकमा १०–१२ वटा नीलगाईको बथान आउँछ। मौका पायो भयो एकछिनमा खेतै सखाप पारिदिन्छ,’ अरुण भन्छन्, ‘गाउँका नेताहरूलाई जति भने पनि समस्यामा चासो लिँदैनन्।”
अरुणको परिवारको एक बिघा रहेकाे बताउछन् । रोप्ने, फलाउने त्यतिमै हो। उनका अनुसार जनावरबाट जोगाउन सक्दा र राम्रो उत्पादन हुँदा त्यति खेतीले परिवार चल्छ तर जंगली जनावरको आतंकले उनीजस्ता धेरै किसानहरू हैरान रहेकाे बताए ।





प्रतिक्रिया दिनुहोस