तेस्रो पटक सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना स्थलमा नेपाली र बङ्गलादेशका उर्जा टोली
881 Views
रोमन लामा (क्षितिज)
रामेछाप ८ भाद्र खोज मिडिया। रामेछाप जिल्ला र काभ्रे जिल्लाको सिमानामा अवस्थित ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जल विद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको प्रतिनिधि मण्डल, नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयूक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।
अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिको लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायत जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए । आयोजनाको अनुमानित लागत १ अर्व ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ । ‘दुई देशको लगानीमा पाइलट परियोजनाको रुपमा सुनकोशीलाई अगाडि बढाउन बंगलादेश तयार छ, आयोजनामा लगानीका लागि बंगलादेश इमानदार र गम्भीर पनि छ’, उनले भने । ‘सुनकोशी तेस्रो मात्र नभई दोलखा र रामेछाप जिल्लामा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त अर्को आयोजनामा समेत लगानी गर्न बंगलादेश तयार रहेको उनले बताए ।
‘बंगलादेशका निजी क्षेत्रले समेत नेपालका निजी क्षेत्रसँग सहकार्य गरी आयोजनाहरुमा लगानी गर्न सक्छन्’ उनले भने । ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयूक्त निर्देशक समिति र सहसचिवस्तरीय संयूक्त कार्यदलको बैठकमा सुनकोशी आयोजनाका विषयमा विस्तृत छलफल गरेर ठोस निर्णय गरिने रहमानले बताए । संयूक्त कार्यदलको बुधबार र निर्देशक समितिको बैठक बिहीबार काठमाडौंमा हुँदैछ । २०७५ साउन २५ मा भएको संयूक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा नेपालले जलविद्युत् क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो ।
बैठकमा पहिलो चरणमा सुनकोशी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयूक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो । कार्यक्रममा रामेछापका संघीय सांसद श्याम कुमार श्रेष्ठ (कुशल), सुनापति गाउँपालिका अध्यक्ष ठूलाकान्छा तामाङ, स्थानीय राजनीतिक दलका नेताहरु लगायतले प्रभावित क्षेत्रको मुहार फेरिने गरी दुई मुलुकको साझा आयोजनाको रुपमा निर्माण गरिनुपर्ने, निर्माण समय नबढ्ने गरी काम हुनु पर्ने र यसका लागि स्थानीय रुपमा आवश्यक सहयोग तथा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले ऊर्जा क्षेत्रमा सहकार्यका लागि गठित संयन्त्र बैठकले बंगलादेशसागको विद्युत् व्यापार र सुनकोशी तेस्रो आयोजनामा लगानीको विषयलाई टुङ्गो लगाउने बताए ।
सुनकोशी आयोजना नेपाल र बंगलादेशको लगानीमा निर्माण गरिने विषय प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्ता आयोजना दुई मुलुकबीच सहकार्य गरी निर्माण गरिनुपर्नेमा जोड दिए । विद्युत् विकास विभागका महानिर्देशक सन्दिव देव र उपमहानिर्देशक सञ्जय ढुङ्गेलले आयोजनाको हालसम्मको अध्ययन, विशेषता, प्रभावित क्षेत्रलगायतका विषयमा जानकारी गराएका थिए । विभागले आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरी स्वीकृतिको प्रक्रियामा छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोशी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५मा आयोजनाको पहिचाहन गरेको थियो । जाइकाले गरेको अध्ययनलाई सन् २०१४ मा अद्यावधिक गरिएको थियो । बीपी राजमार्गको गजुरी दहबाट करिब १ कि.मि रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।
ईआईए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने छन् । आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुबानमा पर्ने छ । यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नु पर्नेछ भने ६ सय ५५ हेक्टर बन क्षेत्रको जग्गा लिनुपर्ने छ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ । वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युत्मध्ये हिउँदको समयमा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।





प्रतिक्रिया दिनुहोस