धरानमा खानेपानी ल्याउन श्रमदान गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ
486 Views
धरान, साउन ३ खोज मिडिया । धरानको निशाने खोला बगरमा सोमबार दर्जनौं मानिस थिए। कोही बालुवा ओसार्दै थिए, कोही ढुंगा पल्टाइरहेका थिए। कोही गिट्टी कुटिरहेका, कोही बगर खनिरहेका थिए।
उनीहरूले यसरी काम गर्न लागेको हप्ता होइन, महिना भइसक्यो। खानेपानी अभावको सास्ती सहेर बसेको धरानको तिर्खा मेट्ने मुख्य एजेन्डासहित मेयरमा निर्वाचित साम्पाङको त्यही सपना पूरा गर्न सयौं धराने चर्को घामकोसमेत पर्वाह नगरी खोला बगरमा श्रम गरिरहेका भेटिन्छन्।
श्रमदान गरिरहेकाहरू तिनै हुन् जसले हिजो साम्पाङलाई जिताउन सघाएका थिए।
‘भोट दिएर मात्रै हुँदैन नि, राम्रो काम गर्ने मान्छेलाई सघाउन पनि तयार हुनु पर्यो नि,’ ५३ वर्षीया बागमती राईले भनिन्, ‘छोराछोरीले घाममा नजानु भनेर रोक्न खोज्छन्, म त सधैं आइरहेकी छु।’
धरानबाट उकालो लागेपछि एउटा घुम्ती आउँछ। त्यहाँबाट दुइटा बाटो छुट्टिन्छ। बायाँतिरको बाटो धनकुटा भेडेटारतिर उकालिन्छ, अर्को फुस्रेतिर। फुस्रेतिर अघि बढेपछि भेटिन्छ विपी पार्क।
फुस्रे त्यही ठाउँ हो, जहाँ राणाहरूले विपी कोइरालाको जेल सरुवा गर्दा उनलाई एक रात बास बसाएका थिए। त्यही सम्झनामा अहिले यहाँ विपीको पूर्णकदको शालिक राखिएको छ। विपीको शालिकलाई बायाँ पारेर बगेको छ, निशाने खोला। यही शालिकबाट करिब डेढ किलोमिटर उत्तर निशाने खोला बगरमा यसबेला दिनहुँ मान्छेको भीड छ।
चर्को घामले सताएका बेला पनि ५३ वर्षीया बागमती राई जसरी खटिनेहरूको ताँती धरानमा ठूलो छ। यहाँ पाकाहरू छन्, युवाहरू छन्। सबभन्दा धेरै अधबैंसेहरू छन्। उनीहरू कोही वैदेशिक रोजागारीबाट फर्केका हुन्। कोही गृहिणी हुन्। कोही विद्यार्थी त कोही काम खोज्दै भौतारिरहेकाहरू हुन्।
उनीहरूमध्ये धेरैसँग जीवनमा यसरी काम गरेको अनुभव छैन। तर, सबैजना लगावपूर्वक खोला बगरमा पसिना बगाइरहेका छन्। त्यो पनि स्वेच्छाले। धरानका मेयर हर्क साम्पाङको आह्वानमा एक महिनादेखि उस्तै उत्साह र लगनले मेहनत गरिरहेका उनीहरूको मक्सद एउटै छ, धरानको तिर्खा मेट्ने।





प्रतिक्रिया दिनुहोस