३८ डिग्रीको गर्मीमा लोडसेडिङ गराएर बिद्युत कार्यालयमा जाँड पार्टी
671 Views
चितवन, असार ३२ खोज मिडिया । बिद्युत मर्मत सम्भारका लागि भन्दै लाइन काटेर चितवनको भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले शुक्रबार दिउसो खसी काटेर दिनभर जाँडपाटी गरेका छन्।
विद्युतका कर्मचारीको गैरजिम्मेवारीपूर्ण कार्यको समाचार संकलन गर्न गएका एक जना पत्रकारलाई उनीहरुले आक्रमण गरेका छ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले शुक्रबार बिद्युत मर्मतका लागि भन्दै नारायणगढ लगायतका क्षेत्रमा लाइन काटेको थियो । तर कार्यालय समयमै कार्यालय प्रमुख राजिव कुमार सिंहसहित कर्मचारी र केही बाहिरका मान्छे समेत सहभागि गराएर जाँडपार्टी गरिएको खबर पाए पछि समाचार संकलन गर्न पुगेका नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई उनीहरुले कुटपिट गर्नुका साथै दुर्ब्यबहार गरेको बताइएको छ।
३८ डिग्री सेल्सियस तापक्रम रहेको भरतपुरमा शुक्रबार बिद्युत लाइन काटेर कर्मचारीले जाँडपार्टी गरेको खबर सर्वासाधारणमा पुगे जनआक्रोश उत्पन्न हुन सक्ने देखेर विद्युतका कर्मचारीले पत्रकार आचार्यमाथि आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। असार मसान्तको क्लोजिङ भन्दै पार्टी गरिएको कार्यलय प्रमुख राजिव कुमार सिंहले बताए ।
उनीहरुले आचार्यसंग रहेका दुईवटा मोवाइल खोसेका छन् भने जाँड पाटीको फुटेज र फोटो डिलिट गरेका छन् । “कार्यालयभित्र हामी राजा हो भन्दै एक्कासी फोटो र भिडियो किन खिचेको” भन्दै आक्रमणमा उत्रिएको सम्पादक आचार्यले बताए । उनले आफु ७/८ जना जाँडले मातिएका कर्मचारीले कुटपिट गर्दापनि भागेर ज्यान जोगाउन सफल भएको गुनासो गरे । कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर आफूमाथि कुटपिट गरिएको पत्रकार आचार्यले दाबी गरेका छन् ।
पिडित पत्रकार आचार्यका अनुसार, कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म उनलाई लखटेका थिए । आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताए । सम्पादक आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ ।
घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका प्लेट नजिकैको झाडीमा फालेको भेटिएको थियो ।
कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिएका छन्। यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् । उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् ।
कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।





प्रतिक्रिया दिनुहोस