खाँडादेवी गाउँपालिकामा काम नै नभएको सिँचाई आयोजनाको २३ लाख भुक्तानी
387 Views
रामेछाप,जेष्ठ १९ खोज मिडिया। रामेछापको खाँडादेवी गाउँपालिकाको एक वडाको सिँचाई आयोजनामा काम नै नगरी भुक्तानी दिएको पाइएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिङ्खुरीस्थित बेसिटोलमा सिँचाई आयोजना निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ मा बागमती प्रदेश सरकार र संघिय सरकारले विनियोजन गरेको ३२ लाख रुपैयाँमध्ये काम नै नगरी २३ लाख रुपैयाँ उपभोक्ता समितिले निकालेको पाइएको हो ।
बेसिटोल सिँचाई योजनाका लागि खाँडादेवी गाउँपालिकाबाट सम्झौता हुनेगरी २० लाख र जिल्ला सिँचाई कार्यालय रामेछापबाट सम्झौता भएर काम हुने गरी ३२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । खाँडादेवी गाउँपालिकाबाट सम्झौता भएर सञ्चालन हुने योजनाको अध्यक्ष सरोज भण्डारी र सचिव सुवास भण्डारी बनेका थिए । उनीहरुले काम सम्पन्न गरी पालिकाबाट चेक लिए । तर, पालिकाको लेखाले अध्यक्ष सरोज भण्डारीलाई फोन गरेर चेक फिर्ता गर्नुपर्यो भन्यो । जेठ १७ गते अध्यक्षले पालिकाको लेखामा लगेर चेक फिर्ता गरे ।
सरोकारवालासँग सल्लाह गरेर जेठ १८ गतेसम्म चेक दिने बताईएको सचिव सुवासको भनाई छ । तर, सोही कुलोमा जिल्ला सिँचाई कार्यालय रामेछापबाट सञ्चालन हुने योजनाको काम नै भएन । स्थानीयहरुले किन काम भएन भनेर बुझ्दा खाँडादेवी गाउँपालिकाबाट सञ्चालित योजनाको फोटो खिचेर, त्यहीँ फोटो देखाएर पटक पटक गरी २३ लाख रुपैयाँ उपभोक्ता समितिले निकालेको पाइएको छ । यसको उपभोक्ता समितिमा गणेश भण्डारी अध्यक्ष, शेर बहादुर भण्डारी सचिव र उनकै आफ्नै भाई चुडाराज भण्डारी कोषाध्यक्ष थिए । जिल्ला सिँचाई कार्यालयबाट पटक पटक गरी २३ लाख रुपैयाँ भूक्तानी भएको देखिएपनि सचिव शेर बहादुर भण्डारीले पैसा निकालेको बारे आफूहरुलाई जानकारी नभएको बताए ।
यता, जिल्ला सिँचाई कार्यालय रामेछापले भने ३२ लाखको योजनामा २३ लाख भूक्तानी दिईएको र बाँकी रकम भूक्तानीका लागि असार मसान्तसम्म कुर्नुपर्ने जनाएको छ । जिल्ला सिँचाई कार्यालय रामेछापका कार्यालय प्रमुख रामनरेश मण्डलले आफू नयाँ नयाँ भएकाले यस विषयमा आफूले बुझेपछि मात्रै केही भन्नसक्ने बताए । कार्यालयका इन्जिनियर दिवाकर प्रसादले भने २ तिरकै काम एकै ठाउँमा हुँदा दुबै उपभोक्ता समितिले आफूले काम गरेको दाबी गरे जस्तो देखिएको र आफूहरु अनुगमनमा जान लागेको बताएका छन् । फागुनमा १२ लाख र त्यसपछि जेठमा ११ लाख भूक्तानी दिईएको र बाँकी बजेट काम हेरेर असार मसान्तमा भूक्तानी गर्ने र काम नभएको भए नदिने बताए ।
उनले पहिलो भूक्तानी १२ लाख रुपैयाँ फागुनमा दिँदासम्म पालिकामार्फत हुने काम सुरु नै नभएको बताएका छन् । तर, अर्को उपभोक्ता समितिका सचिव सुवास भण्डारीले भने आफूहरुले पौष २० गतेबाटै काम सुरु गरेको र काम सकिँदासम्म ९ सय जना कामदार लागेको उनको दाबी छ । अर्को उपभोक्ता समितका कोषाध्यक्ष रहेका चुडाराज भण्डारी खाँडादेवी गाउँपालिका वडा नम्बर ९ मा नेकपा एकिकृत समाजवाटी पार्टीबाट वडाध्यक्षको उम्मेदवार समेत थिए । यो विवाद सतहमा आएपछि उनी सम्पर्क विहिन छन् ।





प्रतिक्रिया दिनुहोस