सहमति भए अनुरुपको बजेट नआएपछि अर्थमन्त्रीलाई शिक्षक महासंघको ध्यानाकर्षण
583 Views
रोमन लामा (क्षितिज)
रामेछाप १८ जेठ खोज मिडिया। नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सहमति अनुरुप बजेट नआएपछि अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ध्यानकर्षण गराएको छ। महासंघले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबिचमा भएको सम्झौतामा रहेका वजेट मार्फत सम्बोधन हुनुपर्ने विषयहरु आ.व. २०७९/०८० को बजेटमा कुनै कुरा प्रष्ट उल्लेख भएको नदेखिएकोले त्यसको छिटोभन्दा छिटो प्रबन्ध गर्न ध्यानाकर्षण गराएको हाे।
शिक्षक महासंघले आ. व. २०७८/०७९ को बजेटमा तोकिए बामोजिम विद्यालयका लेखापालको पारिश्रमिक २० हजार ५ सय रुपैयाँ र कार्यालय सहयोगीको पारिश्रमिक १५ हजार रुपैयाँमा यस पटकको तलव वृद्धिसमेत जोडी आ.व. २०७९/०८० बाट संघिय सरकारबाटै उपलब्ध गराउन माग गरेको छ।
महासंघले बालकक्षाका शिक्षकको तोकिएको पारिश्रमिक १५ हजार रुपैयाँमा यस पटकको तलव वृद्धि समेत जोडी आ.व. २०७९/०८० बाट संघिय सरकारबाटै उपलब्ध गराउनका लागि अर्थ मन्त्री शर्माको ध्यानाकर्षण गराएको हो। यस्तै बजेटबाट प्रवन्ध गरिएको सुविधा सहितको १० दिने पर्यटन काज, दुर्घटना बिमा तथा स्वास्थ्य सुरक्षा बिमा विद्यालयका शिक्षक कर्मचारीको हकमा समेत लागू हुने प्रबन्ध गर्न माग गरेको छ ।
शिक्षक महासंघले शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत लगानीको प्रबन्ध गनुपर्ने, अस्थायी शिक्षकको आन्तरिक परीक्षापछि सेवाबाट बहिर्गमनमा परेका शिक्षकलाई गोल्डेन ह्याण्डसेक लिन छुटेकालाई नियमानुसार पाउने सुविधा उपलव्ध गराउनका लागि पनि ध्यानाकर्षण गराएको छ।





प्रतिक्रिया दिनुहोस