निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई आग्रह
627 Views
बाँके , २४ वैशाख खोज मिडिया । बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिताबारे छलफलमा स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनसमेत गर्ने भएको छ ।
मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनीतिक दल, मिडिया, उम्मेदवारलगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
अहिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै उनीहरुले अनुगमनमा देखिएका विषयलाई मानवअधिकार आयोगको कार्यालयमा हेल्प डेस्कमार्फत सूचना प्रवाह गर्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका नेपालगञ्जका प्रमुख झङ्कर रावलले हेल्पडेस्क स्थापना गरी निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिको अनुगमन गरी सरोकार भएको ध्यानाकर्षण गराइने जानकारी दिएका हुन् ।





प्रतिक्रिया दिनुहोस