वृद्धवृद्धा र सुत्केरी मतदान गर्नबाट वञ्चित हुने
557 Views
दार्चुला, २३ वैशाख खोज मिडिया । दार्चुलाको व्यास गाउँपालिका–१ का शङ्करसिंह ऐतवाल ९४ वर्षका भए । विगतमा गाउँ पञ्चायतको सदस्यसमेत बनेका उनी तिङ्करको डोकाङ खम्पा काण्डका जिउँदा सहिद पनि हुन् ।
नेपाल प्रहरीको जागिर छोडेर आएका ऐतवाल खम्पाकाण्डमा एक्लै मैदानमा खटिएका थिए । विसं २०७४ को निर्वाचनसम्म निरन्तर मतदानमा सहभागी भएका उनी यो पटक भने मतदान गर्नबाट वञ्चित हुँदैछन् ।
स्थानीय तहको यो पटकको निर्वाचनका लागि व्यास गाउँपालिका–१को छाङ्गरु र तिङ्करका बासिन्दाका लागि मात्रै मतदान केन्द्र कायम भएकाले पछि सदरमुकाम खलङ्गामा बसेका वृद्धवृद्धा र सुत्केरी महिला मतदानबाट वञ्चित हुने अवस्था आएको स्थानीय अमिता तिङ्करीले बताइन् ।
“वृद्धवृद्धा र नवजात शिशु पाएका महिला गाउँ गएर मतदान गर्न सक्दैनन् । वृद्धवृद्धा चिसो ठाउँमा बस्न सक्दैनन् । बसाइँ सर्नुभन्दा अघि नै निर्वाचन भइदिए सबै वृद्धवृद्धा महिलाले मतदानमा आफ्नो मत प्रयोग गर्न सक्थे” उनले भनिन्, “दुवै गाउँका झण्डै १०० मतदाताले निर्वाचनमा भाग लिनसक्ने अवस्था छैन् ।” महिला वृद्धवृद्धा मात्र हैन, घर हेरालु, बालबच्चा सदरमुकाम खलङ्गामा पढाउने अभिभावक पनि यो पटक मतदानका लागि गाउँ नजाने भएका छन् ।





प्रतिक्रिया दिनुहोस