राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन
680 Views
काठमाडौँ, २१ वैशाख खोज मिडिया । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ ।
बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने बताए ।
आयोगले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको सुरक्षा प्रवन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना लगायतको विषयमा अनुगमन गर्नेछ ।
त्यसैगरी, निर्वाचन प्रचार प्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि, पर्यवेक्षण गर्ने संघ संस्थाहरुको कार्य, निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता लगायतका विविध विषयको अनुगमन हुने आयोगका अध्यक्ष मगरले बताए । आयोगले उम्मेदवारी मनोनयन दर्ताको दिन बैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको उनले जानकारी दिए ।
अनुगमनका क्रममा आयोगले विगतको तुलनामा महिलाहरुको उम्मेदवारीमा कमी देखिएको, समावेशी समूहबाट कम उम्मेदवारले मनोनयन दर्ता गरेको, बालबालिकालाई जुलुसमा लगिएको, मतदाता शिक्षाको प्रचार प्रसार नगरिएको तथा दलका नेताहरुले एक अर्काप्रति घृणायुक्त अभिव्यक्ति दिनु लगायतका कमी कमजोरी देखिएको बताएको छ । आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।
उनले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरूमा निर्वाचन पूर्व अनुगमन हुने उल्लेख गरे का छन् । आयोगका सदस्य डा.सूर्य ढुंगेलको नेतृत्वमा मधेश प्रदेश, मिहिर ठाकुरको नेतृत्वमा गण्डकी प्रदेश, मनोज दुवाडीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश र लिली थापाको नेतृत्वमा प्रदेश नम्बर १ मा अनुगमन हुने उनले जानकारी दिए । निर्वाचन अवधिमा आयोगमा अनुगमन कन्ट्रोल रुम स्थापना गर्ने र द्रुततर सूचना संकलन केन्द्र तथा द्रुत अनुगमन टोलीको समेत व्यवस्था गरिने उनले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस