दोर्दीमा सत्ता गठबन्धनको प्रतिवद्धता, “विद्युत/शिक्षा” निःशुल्क
623 Views
लमजुङ, २१ वैशाख खोज मिडिया । लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा कांग्रेस, नेकपा ‘माओवादी केन्द्र’ र नेकपा ‘एकीकृत समाजवादी’को गठबन्धनले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
गठबन्धनको दोर्दी गाउँपालिकाले स्थानीय तह निर्वाचन २०७९ को लागि सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा यस्तो उल्लेख गरेको हो ।शिक्षा क्षेत्रमा गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्येबाट नमुना विद्यालय छनोट गरी प्रोत्साहन गरिने, शिक्षकलाई बालमैत्री तालिमको व्यवस्था गरी शिक्षण सिकाई प्रक्रियामा गुणस्तरिय कायम गरिने प्रतिवद्धता पत्रमा उल्लेख रहेको छ ।
उक्त गाउँपालिकामा जलविद्युत आयोजनाबाट आएको रोयल्टीबाट २० युनिटसम्मको विद्युत महसुल निःशुल्क गराइने प्रतिवद्धता जनाइएको छ । विद्युतीकरण र वैकल्पिक ऊर्जा, जलस्रोत तथा सिंचाइ पूर्वाधार, सडक तथा यातायात, आवास व्यवस्था, कृषि क्षेत्रतर्फ कृषिमा आधुनिकिरण, व्यवसायीकरण र प्रविधिको उपयोग गरी विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रतर्फ ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घरघरमै निःशुल्क स्वास्थ्य सेवा, आधारभुत स्वास्थ्य सेवामा नागरिकको मौलिक हक सुनिश्चित गरिने लगायतका अन्य प्रतिवद्धताहरु उल्लेख गरिएको छ । जलवायु परिवर्तनबाट हुने समस्या न्युनीकरण गरी वातावरणसम्बन्धी एक गाउँ एक पोखरी निर्माण गरिने र गाउँगाउँमा वाइफाइको व्यवस्था गरिने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका लालबहादुर गुरुङ र उपाध्यक्षमा कांग्रेसका वृक्षबहादुर घले चुनावी मैदानमा होमिएका छन् । एमालेबाट अध्यक्षमा युवराज अधिकारी र उपाध्यक्षमा उषा गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।





प्रतिक्रिया दिनुहोस