बालेन शाह किन लगाउँछन् कालो चस्मा ? यस्तो छ कारण,
717 Views
काठमाडौँ, वैशाख १९ खोज मिडिया । र्यापर तथा इन्जिनियरका रुपमा चिनिएका बालेन शाहले राजनीतिक क्षेत्रमा पाइला टेक्दै काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । बालेन शाहको वास्तविक नाम बालेन्द्र शाह हो । उनको जन्म काठमाडौंको नरदेवीमा भएको थियो । ३१ वर्षीय उनी काठमाडौंको नरदेवीमा जन्मे–हुर्केका हुन् भने हाल उनी काठमाडौं तीनकुने, गैरीगाउँका बासिन्दा हुन् । उनका बुबा डा.रामनारायण आयुर्वेदिक चिकित्सक हुन् ।
बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो । उनका बुबाआमा बसाई सरेर काठमाडौंका स्थायी बासिन्दा भएका हुन् । उनका प्रतिस्पर्धीमध्येका एक केशव स्थापितले उनीमाथि “अन्तर्राष्ट्रिय ठग” को आरोप लगाएका छन् । केशव स्थापित आफैमा पनि आरोपमुक्त भने छैनन् । उनीमाथि “मी टु” को आरोप छ । मेयरकै उम्मेदवार काँग्रेसकी सिर्जना सिंहमाथि पनि “परिवारवाद” को आ’रोप रहेको छ ।
यिनै आरोपका बीच वैशाख ३० गते हुने निर्वाचनमा काठमाडौंवासीले जनप्रतिनिधि चयन गर्नेछन् । काठमाडौं महानगर प्रमुखका लागि बालेन शाहका साथै राजनीतिक दलबाट एमालेका केशव स्थापित, काँग्रेसकी सिर्जना सिंह लगायतका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । खासगरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने शाह, एमालेको प्रतिनिधित्व गर्ने स्थापित र काँग्रेसका साथै महिलाको प्रतिनिधित्व गर्ने सिंहमध्ये एकलाई काठमाडौंबासीले नगर प्रमुखका रुपमा छनौट गर्ने भएका छन् ।
एमालेका स्थापित यसअघि २ पटक काठमाडौं महानगरका मेयर भइसकेका व्यक्ति हुन् । उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री तथा सांसद भइसकेका थिए । उनीसँग लामो राजनीतिक अनुभव छ । यस्तै काँग्रेसकी उम्मेदवार सिंह गणेशमान सिंहकी बुहारी तथा काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी हुन् । यसअघि प्रत्यक्ष र सशक्त ढंगले राजनीतिमा नआए पनि उनले राजनीतिलाई बुझेकी छन् । साथै उनलाई आफ्ना पति प्रकाशमानको पनि साथ, सहयोग छ । उनका श्रीमान् यतिबेला पत्नीलाई जिताउनका लागि मतदाताका घर-घर पुगेर हात जोडिरहेका छन् ।
तर राजनीतिक दलको कुनै पारिवारिक बिरासतबिना चर्चाको शिखरमा पुगेका बालेन शाहको पृष्ठभूमि भने फरक छ । उनका बाबुबाजे मधेसी भए पनि उनी काठमाडौँ वासी हुन् । काठमाठौंमै जन्मे–हुर्केका शाह नेवारी भाषा बोल्न जान्दछन् भने यहाँको संस्कार र संस्कृतिसँग परिचित रहेका छन् ।
बालेन मधेसको तेली समुदायका युवा हुन् । उनका हजुरबुबा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पुर्याएको मानिन्छ । बालेनका पिता डा.रामनारायण साहको पनि नेविसंघ र नेपाली काँग्रेसमा आवद्ध रहेर काम गरेका थिए । बालेन खासगरी र्याप गीत गाउने र त्यसमा पनि राजनीतिक विसंगतिहरुलाई उठाउने काम गर्छन् । संगीत सिर्जना गर्ने, गीत, कविता लेख्ने प्रतिभाका धनी उनी पेसाले स्ट्रकचरल इन्जिनियर हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र भारतको बैङ्लोरबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
बालेन शाह किन लगाउँछन् कालो चस्मा ?
बालेन आफ्नो बारेका कुराहरु खासै बताउन रुचाउँदैनन् । हरबखत उनी कालो चस्मामा देखिन्छन् । मानिसहरुसँग आँखामा आँखा जुधाएर विश्वास आर्जन गर्नुपर्ने बेला बालेन किन कालो चस्मामा प्रस्तुत भइरहेका छन् भन्ने प्रश्न पनि उठिरहेका छन् । के उनमा आफूलाई तिलस्मी रुपमा प्रस्तुत गर्ने मनोविज्ञान हावी भइरहेको त हैन भन्ने कुरा पनि उठ्ने गरेको पाईन्छ ।
स्थानीय चुनावमा उम्मेदवार बन्ने घोषणा गरेपछि चर्चामा आएका शाहलाई आम मानिसहरुले बिरलै कालो चस्माबिना देख्न पाएका छन् । सामान्यतया चर्को घाम वा हिउँबाट परावर्तन भएर आउने प्रकाश वा धुवाँ, धुलोबाट आँखालाई बचाउनका कालो चस्मा लगाउने प्रचलन रहे पनि शाहले अन्र्तवार्ताका लागि स्टुडियो प्रयोग गर्दा पनि कालो चस्मा लगाउने गरेका छन् । उनी कालो चस्मा खोल्न र आफ्नो पुर्ख्यौली प्रस्ट खुलाउन त्यति रुचाउँदैनन् । कुनै पनि सार्वजनिक ब्यक्ति वा सार्वजनिक भलाईका लागि काम गर्ने ब्यक्तिका बारेमा आम मानिसको चासो हुनु सामान्य मानिन्छ । भारतको नीटी मीनाक्षी इन्स्टिट्यूट अफ टेक्नोलोजी प्राविधिक विद्यालयमा अध्ययनका बेला उनले कहिल्यै कालो चस्मा नलगाएको सोही संस्थामा अध्ययन गरेका एक विद्यार्थीले बताए । तर चस्मा लगाउने वा नलगाउने कुरा उनको व्यक्तिगत स्वतन्त्रता हो ।
यतिबेला बालेनमाथि विभिन्न चासोका चस्माले चारैतिरबाट हेर्न थालिएको छ । एकजना मधेसी समुदायको युवा जसले काठमाडौंमा कसरी दलका उम्मेदवारहरुलाई कडा टक्कर दिइरहेको छ ? कुनै सिद्धान्तबिनाको सेलिब्रेटी उम्मेदवार राजनीतिमा कतिको बलियो हुनसक्छ ? बालेन शाह लोकप्रिय सेलिबे्रटी भएर मात्र अघि बढेका हुन् वा उनको पछाडि कुनै शक्ति छ ? सदियौंदेखि पछि पारिएको भनिएको मधेसी समुदायबाट प्रतिनिधित्व गरे पनि किन उनी आफ्नो पहिचान लुकाउन खोज्छन् ? उनको नीति प्रगतिशील हुन्छ वा दक्षिणपन्थी ? यस्ता प्रश्न पनि उठ्ने गरेका छन् । काठमाडौं महानगरपालिकामा करिव १० हजार भोट मधेसी समुदायको रहेको अनुमान गरिए पनि बालेन आफ्नो समुदायबारे प्रस्ट खुलाउन तयार छैनन् ।
मधेसी समुदायका युवाले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका रुपमा यति ठूलो चर्चा पाएको नेपालको इतिहासमै पहिलो घ’ट’ना हो । गत स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शनाले जुन ठाउँ ओगटेकी थिइन्, त्यो ठाउँ बालेनले ओगट्ने अड्कलबाजी धेरैले गरेका छन् । कुनै मधेसी समुदायबाट काठमाडौंको महानगर प्रमुखमा चुनाव जिते इतिहास नै रचिने निश्चित छ र नजिते पनि सम्मानित भोट ल्याउनु भनेको सिङ्गो मधेसी समुदायका लागि सानो उपलब्धि हुँदैन । यसले राष्ट्रिय एकतामा सघाउ पुग्ने निश्चित छ । जस्तो पहाडी मुलका धेरै नेताहरु तराई मधेसबाट चुनिएका छन् तर मधेसी मुलका मानिस पहाडी क्षेत्रबाट चुनिएको पाइँदैन ।
बालेन भन्छन् : म पनि नेवाः हुँ
स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू पनि नेवाः भएको बताएका छन् । एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले काठमाडौंको महानगरको चुनाव जित्न नेवार उम्मेदवार चाहिएला नि भन्ने प्रश्नमा उनले आफू पनि सोही समुदाय अन्तर्गतको बताएका छन् । बालेनले भनेका छन्! “म पनि नेवा: हुँ, नेवाः भनेको जात हैन समुदाय हो । काठमाडौं उपत्यकामा बसेर, यहाँको कला संस्कृतिलाई अपनाएर, यहाँको जात्रामा रमाएर, यहाँको चार्डपर्व मनाएर, यहाँको भावनालाई बुझेर यहाँको संस्कृति बुझ्ने जति पनि उपत्यकावासी छन्, ती सबै नेवा हुन् । तपाईहरु भित्री नेवाः समुदायमा जानुभयो भने यो कुरा उहाँहरुले पनि भन्नुहुन्छ । म पनि नेवाः हो र नेवाःको बारेमा सोच्ने ब्यक्ति नै यहाँको मेयर हुनुपर्छ जस्तो लाग्छ ।”पक्कै पनि बालेन नेवाः समुदायसँग भिजेका छन्, उनी नेवारी भाषा पनि जान्दछन् । नेवारी जात्रा, परम्परामा सहभागी भइरहेका पनि देखिन्छन् ।





प्रतिक्रिया दिनुहोस