प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा नाघेर भाजपाका नेता-कार्यकर्तासंग भेट
794 Views
काठमाण्डौ, १९ चैत खोज मिडिया । तीन दिने सद्भावना भारत भ्रमणमा निस्किएका प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतले अपमान गर्दै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्ट पठाएर स्वागत गर्यो।
त्यसपछि प्रधानमन्त्री देउवाले कुटनीतिक मर्यादा नाघेर भ्रमणको पहिलो दिन नै सत्तारुढ दल भारतीय जनता पार्टीको केन्द्रीय कार्यालय गएर भाजपाका नेता-कार्यकर्तालाई भेट गरे। त्यस क्रममा अध्यक्ष जेपी नड्डासंग भेट गरेका प्रम देउबाले दुई पार्टीले भविष्यमा कसरी एकअर्कासँग समन्वय गरेर अगाडि बढ्ने विषयमा समेत छलफल गरेको बताइएको छ।
आफ्नो र देशको कुटनीतिक मर्यादा भुलेर भारतीय जनता पार्टीको कार्यालय पुगेका प्रधानमन्त्री सेर बहादुर देउबाले शुक्रबार राती नै भारतीय विदेश मन्त्री एस शंकरलाई पनि भेट गरेका छन्। त्यस भेटमा उनीहरु बीच के कुरा भयो भन्ने बारेमा केही कुरा सार्वजनिक भएको छैन। दुईबीच नेपाल-भारतको सम्बन्ध सुधारका आयामहरुबारे छलफल भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। विदेशमन्त्री जयशंकरले पनि प्रधानमन्त्री देउवाको भ्रमणले घनिष्ट छिमेकी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका बताइएको छ ।
दिल्ली उत्रेलगत्तै भारतीय जनता पार्टीको मुख्यालय गएका प्रधानमन्त्री देउवा भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटपछि साँझ नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका थिए। त्यस अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मुलुकबीचको सम्बन्ध मजबुत र द्विपक्षीय आर्थिक सहयोगका विषयमा हुने सम्झौतामा भ्रमण केन्द्रित रहेको बताए ।
दूतावासको कार्यक्रममा सम्बोधन गर्दै देउवाले भने ,’यो भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयहरुमा छलफल गर्नु रहेको छ । यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई हासिल गर्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा पुगेका देउवाले शनिबार राजघाटको भ्रमण पश्चात् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसक्रममा ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातका क्षेत्रमा महत्वपूर्ण घोषणाहरु हुनेछन् । ‘साथै, केही नयाँ सम्झौतापत्रहरु को पनि आदान-प्रदान हुनेछ’ प्रधानमन्त्री देउवाले भने,’नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहिआएको छ । दुई देशबीचको साँस्कृतिक तथा भौगोलिक सामिप्यताले गर्दा हाम्रो सम्बन्ध जनस्तरमा समेत अत्यन्त प्रगाढ रहँदैआएको छ । समय समयमा आदान-प्रदान हुने उच्चस्तरीय भ्रमणको माध्यमबाट यो सम्बन्धलाई अझ मजबुत एवं फलदायी बनाउन सकिने कुरामा म विश्वस्त छु ।’
समकक्षी मोदीसँग भेटवार्ता
प्रधानमन्त्री देउवा र समकक्षी नरेन्द्र मोदीबीच शनिबार दिउँसो भेटवार्ता हुँदैछ। हैदरावाद हाउसमा आयोजना हुने समारोहमा समकक्षी मोदीसँग ‘वान टु वान’ वार्ता हुनुको साथै नेपाल र भारतबीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर-कुर्था रेलसेवा र भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ।





प्रतिक्रिया दिनुहोस