विकास र संरक्षणका नाममा मासिँदै छन् सिमसार
511 Views
कास्की, २० माघ खोज मिडिया । हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस “कटन पिग्मी गुज” अचेल पोखराको खास्टे तालमा देख्न छोड्यो । साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेको छ । अहिले हरिहाँस कैलालीको घो*डाघो*डी तालमा मात्र देखिने पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरेले बताए ।
कपासको भुवाजस्तो प्वाँख भएको हरिहाँसले शिरमा कालो मुकुट लगाईन्छ । कालै आँखा भएको यो चराले पखेटामा पनि कालै पोतेको देखिन्छ । घाँटीदेखि शरीरका अन्य भाग निख्खर सेतो प्वाँखले ढाकिएको हरिहाँस बढीमा १६० ग्राम मात्र रहेको हुन्छ।
सिमसारका सफा पानीमा पौडिँदै आहारा खोज्नु हरिहाँसको दिनचर्या हो। तालनजिकै दलदल परेको भागमा तैरिएका वनस्पति भएका ठाउँ हरिहाँसलाई मन पर्छ। पोखराका तालमा कमल फूल फुल्दा हरिहाँस रमाउने गरेको पन्छीविज्ञ घिमिरे सम्झन्छन्। तालनजिकै सिमलको रूखमा प्वाल पारेर बासस्थान बनाउने हरिहाँस यस वर्षको गणनामा देखिएको भने छैनन् ।
पन्छी समाज पोखरा र टाइगर माउन्टेन लजले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर बर्सेनि पोखराका चरा गणना गर्छन्। यस वर्ष जनवरी १०, ११ र १२ गरी तीन दिन गणना गरिएको थियो। चरा विज्ञसहित ५४ जना मिलेर पोखराका सम्पूर्ण तालतलैया र नदी आसपास खोज्दासमेत हरिहाँस नभेटिएको घिमिरे बताउँछन्।
उनका अनुसार पोखरामा हरिहाँस सन् २०१८ बाटै देख्न छाडेको हो।
“हामीले देख्दा देख्दै हरिहाँस हरायो” घिमिरेले भने! “पोखराका तालहरू हरिहाँस बस्न लायक रहेनन्।” नेपाल जुलोजिकल सोसाइटी गण्डकीका अध्यक्ष हेमन्त ढकाल खास्टे तालबाट हरिहाँस हराउनुमा मान्छेको अ*तिक्र*मण मुख्य कारक रहेको बताउँछन्।
वन्यजन्तु र वातावरणीय संरक्षणमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संस्थादेखि नेपालका सरकारी निकाय र सिमसार अ*तिक्र*मणकारी यसका भागीदार भएको उनको भनाइ रहेको छ।
विश्व वन्यजन्तु कोषको लगानीमा पोखराका तालहरूमा “हरियो वन कार्यक्रम” लागू भएको छ। खास्टे ताल संरक्षण गर्ने नाममा स्थानीयको एउटा समूहले ताल सौन्दर्यीकरण गर्न बजेट पाएको थियो। उनीहरूले तालको मुहानतर्फ र किनारामा तैरिएका वनस्पति निकालेर फाल्ने योजना बनाएका छन ।
सिमसारका वनस्पति फाल्न लागेको थाहा पाएर ढकालसहितको टोलीले त्यसो नगर्न सुझाव दिएका थिए। तर कसैले उनीहरूको कुरा सुनेनन्। परिणाम, तालबाट हरिहाँस हरायो।
खास्टे ताल अ*तिक्र*मण यतिमै रोकिएको थिएन । ताल वरिपरि पदमार्ग बनाउन पोखरा महानगर र सरकारका अन्य निकाय संलग्न भए। ताल वरिपरि डोजर चलाइयो। त्यतिले नपुगेर रिङरोड बनाउने भन्दै खास्टे तालको चारैतिर डोजर कुदाइयो। डोजरले तालको बीचबाटै बाटो लगेको छ। बाटोकै लागि सिमसारमा अन्यत्रबाट ढुंगामाटो लगेर पुरिएको देखिनछ।
अब भने खास्टे तालमा हरिहाँस कहिल्यै आउँदैनन् होला ! “ढकालले चिन्ता पोखे/ मान्छेले गरेका सबै अ*तिक्र*मण रोकेर पुरानै स्वरूपमा सिमसार ब्युँताउन अब गाह्रो छ।” साइबेरियाबाट पोखरा आएपछि हरिहाँसले खास्टे ताल मन पराएर बसेको थियो। यतै अन्डा पार्थ्यो चल्ला कोरल्थ्यो। हुलका हुल देखिने हरिहाँस सन् २०१८ मा चारवटा मात्र देखिए। त्यति बेलै पोखराबाट हरिहाँस हराउन थालेको भनेर चराप्रेमीहरू चिन्तित बनेको बताएका छन ।





प्रतिक्रिया दिनुहोस